बर्डफ्लु नियन्त्रणमा भएसँगै ‘अण्डा’ र मासुको खपत र मूल्य बढ्यो
चितवन। पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुुरु गरेको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को रु दुई हजार ९०० बाट तीन हजार पुर्याइएको छ । एक्सेल अण्डा रु ५१५ बाट ५४५ पुगेको छ ।
अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताउनुभयो । बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट रु ४५० मा झरेको थियो । प्रतिक्रेट रु ५६५ बाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो । अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ पर्न आउँछ । यसरी हिसाब गर्दा किसानले प्रतिक्रेट रु ५७३.६० पाउँदामात्रै लागत मूल्य पाउँछन् । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोरेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार झण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन् । चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको उहाँ बताउनुहुन्छ ।
यस्तै कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० पुगेको छ । रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको रु १५ मा समेत बिक्री गरेका थिए । ह्याचरीले सातामा दुई ह्याच चल्ला उत्पादन गर्दछन् । ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ६५ हो । यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा रु १२५ हो भने अहिले बजारमा रु १५० मा बिक्री हुन थालेको छ । एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला एक लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो ।
रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ । किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु २६० मा बिक्री गर्दै आएकामा घटेर रु १५० मा झरेको थियो । अहिले बढेर रु २१५ पुगेको लामिछानेले जानकारी दिनुभयो । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भईरहेको भन्दै उहाँले अर्बौँ गुमाउनुपरेको बताउनुभयो ।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लोपटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो । विभागको तथ्याङ्कअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो । मोरङको उर्लाबारी–८ र सुन्दरहरैचा–४ मा पहिलोपटक वर्डफ्लु देखिएको थियो ।
विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्