पाल्हिनन्दनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका यतिबेला नेतृत्वविहीन अवस्थामा पुगेको छ। अध्यक्ष बैजुप्रसाद गुप्ताको पद यसअघि नै रिक्त भइसकेको अवस्थामा उपाध्यक्ष फातुमा खातुनले दायर गरेको रिट सर्वोच्च अदालतबाट खारेज भएपछि गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्व थप अन्योलमा परेको छ।

नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष खातुनले आफूलाई पुनः उपाध्यक्षको हैसियतमा कामकाज गर्न दिन माग गर्दै अन्तरिम आदेशसहित उत्प्रेषणको रिट दायर गर्नुभएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीश शारदा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट खारेज गरेपछि उनको पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवार विपरीत अन्य दलका उम्मेदवारको पक्षमा मत मागेको आरोपमा नेपाली कांग्रेस केन्द्रीय समितिले कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा निर्वाचन आयोगले गत असार ९ गते सूचना प्रकाशित गर्दै खातुनलाई पदमुक्त गरेको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनका विपक्षी उम्मेदवारलाई मत मागेको आरोपमा अनुशासन समितिको सिफारिस बमोजिम काङ्ग्रेसले निर्वाचन आयोगलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
यसअघि पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दर्ता भएपछि उनको पद पनि यसअघि नै रिक्त भइसकेको छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न अहिले स्थानीय तहमा प्रमुख चासोको विषय बनेको छ।








प्रतिक्रिया राख्नुहोस्