तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पताल आक्रमण प्रकरण: चिकित्सक आन्दोलनले देशभर सेवा प्रभावित

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विवाद समाधान हुन नसक्दा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले आज (साउन १२ गते, मङ्गलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गराएको छ ।

गत साउन ९ गते शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त र केही समूहले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै कार्यरत चिकित्सक डा. प्रमोद रामलगायत स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गरेका थिए ।

आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका डा. रामको हाल काठमाडौंमा उपचार भइरहेको छ ।

घटनाको समाधान र स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका चिकित्सक प्रतिनिधिहरूमाथि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीप राज पाठकको उपस्थितिमा दुव्र्यवहार, धम्की तथा थुनछेक गरिएको नेपाल चिकित्सक सङ्घले आरोप लगाएको छ ।

तर, स्थानीय प्रशासनले भने चिकित्सक प्रतिनिधिहरूलाई बन्धक नबनाइएको र सेवा सञ्चालनका विषयमा छलफल मात्र गरिएको दाबी गरेको छ ।

असुरक्षित वातावरणमा काम गर्न नसकिने भन्दै नारायणी अस्पतालका करिब ८० जना चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

यसैबीच, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा आक्रमणमा संलग्न दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ बमोजिम कारबाही गर्न माग गरिएको छ ।

सङ्घले चिकित्सकमाथि भएको दुव्र्यवहारमा संलग्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत विभागीय कारबाही गर्न माग गरेको छ ।

आन्दोलनका कारण बिरामीहरूमा परेको असुविधाप्रति क्षमा माग्दै सङ्घले त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र पर्सा जिल्ला प्रशासनले लिनुपर्ने जनाएको छ ।

चिकित्सकहरूको आन्दोलनका कारण वीरगञ्जसहित देशभरका अस्पतालमा स्वास्थ्य सेवा प्रभावित हुँदा उपचारका लागि पुगेका बिरामीहरू भने सास्ती भोग्न बाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button