तपाईँ सुन्दै हुनुहुन्छः

चैते धान उत्पादन बढाउन कृषि मन्त्रीको जोड

जनकपुरधाम । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चामलको आयातलाई प्रतिस्थापन गर्नका लागि चैते धानको उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा रहेको राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र हर्दिनाथ, बनिनियामा आज आयोजना गरिएको कार्यक्रममा उहाँले धानको उत्पादन बढाउनका लागि कम पानीमा अत्यधिक उत्पादन हुने चैते धानको नयाँ जातको अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषि अनुसन्धान परिषद्लाई विदेशी जातको धानको अनुसन्धानको केन्द्र नबनाई नेपालको रैथाने धानको जातहरूको अनुसन्धानमा विशेष ध्यान दिन कृषि वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो ।

कृषिमन्त्री चौधरीले जलवायु परिवर्तनका कारणले वर्षा कम हुने गरेको र मधेशमा सिचाइको अभाव देखिएकाले सुख्खामा अधिक धान फल्ने जात धानको विकासमा अहोरात्र खटेर देश विकासका लागि कृषि वैज्ञानिकहरूलाई थप मेहनत गर्नका लागि आग्रह गर्नु भयो । 

त्यस्तै कार्यक्रममा राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका निमित्त कार्यालय प्रमुख कृषि वैज्ञानिक डा. काशीनाथ चिलुवालले कम श्रोत र साधनका बीचमा धानवाली अनुसन्धान केन्द्रले नयाँ नयाँ जातको धानको अनुसन्धान गरिरहेको बताउनु भयो । 

२०५४ सालमा स्थापना भएको हर्दिनाथ धानवाली अनुसन्धान केन्द्रले ९८ जातको धानको अनुसन्धान गर्नुका साथै प्रति हेक्टर ८ देखि ९ टन उत्पादन हुने हाइब्रिड जातको हर्दिनाथ धानको अनुसन्धान अन्तिम चरणमा पुगेको प्राविधिक अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनु भयो ।          

प्रतिक्रिया राख्नुहोस्

Back to top button