रासायनिक मलको आपूर्तिमा देखिएको असहजता साउन १५ पछि कम हुने : मन्त्री चौधरी

जनकपुरधाम । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा देखिएको समस्या साउन १५ पछि अलि सहज हुने बताउनु भएको छ ।
कृषिमन्त्री चौधरी राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट जनकपुरधाम क्षेत्रमा परेको प्रभावका विषयमा स्थलगत रुपमा जानकारी लिने उद्देश्यले धनुषामा रहनु भएका मन्त्री चौधरीले आज पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले रासायनिक मलको अभाव सम्बन्धि समस्या नयाँ नभएपनि यस पटक मल आयात हुने हर्मुजा जलमार्ग क्षेत्रमा उत्पन्न भएको तनावले आयातमा समस्या भएको कारणले थोरै असहजता अहिले देखिएपनि विभिन्न नाकाबाट २५ हजार टनको दरले मल भित्रिरहेकाले केही दिनमा सहज हुने बताउनु भयो ।
उहाँले सिँचाई तथा कृषि मन्त्रालय एकीकृत रुपमा अगाडी बढ्ने गरि दुवै मन्त्रालयले एकीकृत रुपमा काम अगाडी बढाइसकेको जानकारी दिँदै आवश्यकताको आधारमा दुवै मन्त्रालयले प्राविधिक प्रतिवेदनको आधारमा काम गर्न लागेकाले सिँचाइको दीर्घकालीन रुपमा नै समस्याको समाधान गर्ने गरि सरकार अगाडी बढेको बताउनु भयो ।
एक प्रश्नको जवाफमा वन मन्त्रालयको जिम्मेवारीमा रहनु भएका मन्त्री चौधरीले चुरे विनाशका कारणले कृषि तथा वातावरणमा परेको नकारात्मक प्रभावका विषयमा वैज्ञानिक विश्लेषणको आधारमा काम गर्ने गरि गृहकार्य शुरु भइसकेको बताउनु भयो ।
उहाँले जलको भण्डारको रुपमा रहेको चुरे संरक्षणका लागि एकीकृत रुपमा काम गर्ने विषयमा मधेश प्रदेशमा मुख्यमन्त्रीसंगको आज बिहान भएको छलफलमा कुरा भएको बताउँदै चुरेको संरक्षणको काम गर्दा दोहरोपना नहोस् भन्ने तर्फ आफूहरू सजग भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्