तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका–४ स्थित निरयघाटलाई मानव सेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो । भक्तजन र शुभेच्छुकहरूबाट प्रतिमठ रु १० हजार ५०० सहयोग लिई तुलसी रोपण गरिएको मानव सेवा धाम विकास समितिका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो ।

ऐतिहासिकस्थल निरयघाटलाई मानव सेवा धामका रूपमा विकास गर्न गुरुयोजना बनाएर काम सुरु गरिएको मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो । बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले निरयघाटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धनका काम अगाडि बढाएको बताउनुभयो ।

सोही स्थानमा अहिले मानव सेवा आश्रमको भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । केही दशकअघिसम्म निरयघाटमा हरिबोधनी एकादशी पर्वमा ठूलो मेला लाग्ने गरेकामा अहिले उक्त मेला लोप भइसकेको छ । नगरपालिकासहित सरोकार भएका निकायको साझा प्रयासमा सो ठाउँको महिमालाई पुनः जागृत गर्न पहल अगाडि बढेको हो । निरयघाटमा लक्ष्मीनारायण, जङ्गेश्वर महादेव मन्दिर, विभिन्न आश्रमलगायत धार्मिक महत्वका स्थल छन् ।

हरिशयनी एकादशीमा तुलसी रोपण तय गरिएपछि निरयघाटमा बिहानैदेखि भक्तालुहरूको चहलपहल बढेको थियो । कालीगण्डकी स्नानका लागि पनि भक्तजन यहाँ जाने परम्परा छ । भजन कीर्तनसहित उल्लासमय वातावरणमा एकसाथ आठ सय मठमा तुलसी रोपण गरिएको थियो ।

हिन्द धर्मअनुसार तुलसीलाई भगवान् विष्णुको प्रिय स्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ । घर आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने गरेको छ । हरिशयनी एकादशीदेखि चतुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजाआराधना र संरक्षण गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button