रोल्पाको सेरममा पहिरो जाँदा गोठालो गएका दुई महिलाको मृत्यु
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो आएको पहिरोमा परी गोठालो गएका दुई महिलाको मृत्यु भएको छ । घटनामा पशुचौपाया पनि पुरिएको आशङ्का गरिएको र घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो करिब १ः१० बजे दवाङ लेकमा गाई–बाख्रा चराइरहेका बेला एक्कासि माथिबाट ठूलो पहिरो खसेको थियो । पहिरोमा पशुचौपाय पुरिएको र गोठालाहरू पनि सम्पर्कविहीन रहेको भन्दै सुनछहरी गाउँपालिका–१ का निवर्तमान वडा अध्यक्ष महावीर राना मगरले दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय पोवाङलाई जानकारी गराउनुभएको थियो ।
खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीका अनुसार पहिरोमा परेका दुई जना महिलाको मृत्यु भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरीको कमाण्डमा थप पाँच सदस्यीय प्रहरी टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ।
पहिरोमा पुरिएका पशुचौपायाको संख्या तथा मानवीय र भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । दुर्गम भौगोलिक अवस्था र निरन्तर वर्षाका कारण उद्धार तथा विवरण सङ्कलनमा कठिनाइ भइरहेको बताइएको छ।







प्रतिक्रिया राख्नुहोस्