तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका सबै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा

बैतडी । बैतडीका सबै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । सरकारको नीतिअनुसार जिल्ला हुलाक कार्यालयले यहाँका १० वटै स्थानीय तहमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गरिएको हो ।

सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार अहिलेसम्म १७८ जनाले घरदैलोमा नै राहदानी प्राप्त गरेको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो ।

“कार्यालयले २४८ राहदानी वितरणका लागि प्राप्त गरेको थियो । ती मध्ये १७८ राहदानी सम्बन्धित व्यक्तिले घरमै प्राप्त गरिसकेका छन् ।”, कार्यालय प्रमुख कार्कीले भन्नुभयो, “बाँकी रहेका राहदानीहरू पनि वितरणका लागि सम्बन्धित पालिका हुलाक कार्यालयमा पठाइसकेका छौ”

यहाँका नौ वटै पालिकामा हुलाक कार्यालय स्थापना गरि सेवा दिइरहेका र दशरथचन्द नगरपालिकाको हकमा जिल्ला हुलाक कार्यालयले नै राहदानी वितरण गरिरहेको उहाँले बताउनुभयो ।  

यसअघि राहदानी तयार भएपछि लिनका लागि पुनः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो । हुलाकमार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको डिलाशैनी गाउँपालिका–१ का विक्रम ठगुन्नाले बताउनुभयो दिनुभयो ।  

जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरिएको बताइएको छ ।

घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाइने बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button