राष्ट्रिय महिला आयोगको काम प्रभावकारी भएन, पुनर्संरचना र सशक्तिकरणमा सांसदहरूको जोड
काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय महिला आयोगको काम प्रभावकारी हुन नसकेको भन्दै आयोगलाई थप सशक्त बनाउन सुझाव दिनुभएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसदहरु उदयबहादुर बोहरा, श्रीकृष्ण प्रसाद अधिकारी, रोशनी मेचे, धमेन्द्र पासवान, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले हिंसा पीडित महिलाको न्यायमा पहुँच, सुरक्षालगायतका विषयमा राष्ट्रिय महिला आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
सांसदहरुले राष्ट्रिय मानव अधिकार आयोगलाई सशक्त बनाइ प्रादेशिक तहमा समेत विस्तार गर्न सके अरू आयोगका आवश्यकता नहुने बताउनुभयो ।
पछिल्लो समय महिलामाथि हुने हिंसाका स्वरूप बदलिएको भए पनि आयोगले पीडितलाई न्याय दिने सन्दर्भमा उचित काम गर्न नसकेको भन्दै सांसदहरुले दूर दराजका हिंसा पीडितको पक्षमा काम गर्ने हो भने आयोगको पुनर्संरचना गरिनुपर्नेमा जोड दिनुभयो ।
संघीय संसदको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले महिला आयोगको काम कारबाहीबारे गरेको अध्ययन बैठकमा सार्वजनिक गरिएको छ ।

अध्ययनले आयोगका सिफारिश सरकारले कार्यान्वयन नगरेको, आयोगको पदाधिकारीको योग्यता नतोकिएका कारण विज्ञतामा समस्या आएको र कार्यादेश अनुरुप दूरदराजका हिंसा पीडित महिलासम्म आयोग पुग्न नसकेको औँल्याइ आयोगलाई सशक्त बनाउन कानूनी समीक्षा गर्न सुझाव दिएको अध्ययन संयोजक निर्मलादेवी लामिछानेले बताउनुभयो ।
बैठकमा समितिका सभापति जयन्तीदेवी राईले अध्ययनबाट आएका सुझावसहित सम्बन्धित मन्त्रालय, आयोग र सरोकारवालाहरूसँग थप छलफल गरिने जानकारी बैठकलाई दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्