तपाईँ सुन्दै हुनुहुन्छः

७ हजारभन्दा बढीले पाए निःशुल्क कान स्वास्थ्य सेवा

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले चालु आर्थिक वर्षभर सञ्चालन गरेका निःशुल्क कान स्वास्थ्य शिविरमार्फत ७ हजारभन्दा बढी नागरिकलाई उपचार तथा परामर्श सेवा प्रदान गरेको जनाएको छ।

संस्थाका आउटरिच इन्चार्ज भीषण थारुका अनुसार आर्थिक वर्षभर २३ स्थानमा सञ्चालन गरिएका ७२ वटा शिविरबाट ७ हजार ४७ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। सेवाग्राहीमध्ये ३ हजार ५८ जना पुरुष र ३ हजार ९८६ जना महिला रहेका छन्।

शिविरका क्रममा ७४८ जनामा कान पाक्ने समस्या र ६९९ जनामा कानेगुजी (कानमा मैन जम्ने) समस्या पहिचान गरिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक देखिएका २२६ जनालाई सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको ब्रिनोजले जनाएको छ।

ब्रिनोजका अनुसार सबैभन्दा बढी सुर्खेतमा २३ वटा, बर्दियामा २२ वटा, बाँकेमा १४ वटा, सल्यानमा ८ वटा र जाजरकोटमा ५ वटा शिविर सञ्चालन गरिएको थियो। गत आर्थिक वर्षमा भने ११ स्थानमा ७० वटा शिविर सञ्चालन गरिएको थियो।

शिविरमार्फत सेवाग्राहीलाई निःशुल्क कान परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो। साथै, शल्यक्रिया आवश्यक पर्ने बिरामीले ब्रिनोजमै उपचार गराएमा १० प्रतिशत सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

ब्रिनोजका प्रबन्ध निर्देशक चेतनारायण चौधरीले स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा समुदायस्तरमै पुगेर कान स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै बहिरोपन न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा शिविर सञ्चालन गर्दै आएको बताए।

उनले समयमै कानसम्बन्धी समस्या पहिचान, उपचार र जनचेतना विस्तारमा यस्ता शिविर प्रभावकारी बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रमा समेत अभियान विस्तार गरिने जानकारी दिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button