तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: दुुईवटा विधेयक छलफलका लागि सम्बन्धित समितिमा 

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक, २०८३ र पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक २०८३ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो ।

यसअघि बैठकको विशेष समयमा नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले सरकारको सय दिन मनाइरहँदा देखिएको शासकीय अभ्यासले सुशासन, विकास, नागरिक स्वतन्त्रता र मानव अधिकारको विश्वव्यापी मानकहरूको खस्कँदो अवस्थाले चिन्तित बनाएको बताउनुभयो ।

नेता अर्यालले संविधान संशोधनको विपक्षमा नरहेको भएपनि संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नपाइने र संविधान निर्माण संलग्न राजनीतिक दलहरूसँगको सहकार्य र राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधन गर्नुपर्ने आफूहरूको मान्यता रहेको स्पष्ट पार्नुभयो ।

उहाँले बस्तीबाट हटाएर होल्डीङ सेन्टर राखेको सकुम्वासीलाई त्यहाँबाट पनि हटाएर अलपत्रमा परेको भन्दै विरोध गर्नुभयो ।

प्रतिनिधि सभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button