तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ  ।

बैठकमा अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त  आर्थिक विधेयक २०८३ र  राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो । 

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक  र राष्ट्र ऋण उठाउने विधेयक माथि सुझाव पेश गर्न चाहने सांसदहरुले राष्ट्रिय सभाको विधेयक शाखामा सुझाव पेश गर्न सक्ने जानकारी गराउनुभयो ।

यसैगरी, राष्ट्रिय सभाको आजै बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त  चारवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ दफावार छलफलका लागि सभाले सम्बन्धित समितिमा पठाएको हो ।

यसैगरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो । 

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार १२ः१५ मिनेटमा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button