तपाईँ सुन्दै हुनुहुन्छः

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन सकेन, यात्रुलाई सास्ती 

लमजुङ । डुम्रेदेखि बेँसी सहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।  

विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा  खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्रे सुरु गरिएको थियो । डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।  

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न जनताले जताततै हारगुहार गरे पनि हालसम्म सडक स्तरोन्नति गर्ने काम अघि बढ्न सकेको छैन । उल्टै वर्षा मौसममा निर्माण कम्पनीले जथाभाबी  निर्माण सामग्री, थन्काएर राखिदिएका कारण सडक आवतजावतमा यात्रुहरूले थप कठिनाइ व्यहोर्नु परेको छ । 

“पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले बताउनुभयो । “वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,” सवारी चालक नारायण घिमिरेले भन्नुभयो । 

डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले सडक पिके निर्माण सेवा काठमाडौँसँग विसं २०८२ जेठमा कार्यसम्पन्न गर्ने गरि सम्झौता भएको बताउनुहुन्छ । दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म काम सकिएको छैन । सडकको निर्माण लागत रु ७२ करोड रहेको छ । निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो ।  

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो ।  यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर हुँदै यात्रा गर्ने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button