फिफा विश्वकप फुटबल : मङ्गलवार बिहान पोर्चुगल र स्पेनबिच खेल हुँदै
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ १६ मा मङ्गलवार बिहान दुई युरोपेली देश पोर्चुगल र स्पेनबिच रोमाञ्चक भिडन्त हुँदैछ ।
पोर्चुगलका ४१ वर्षीय भेट्रान स्टार क्रिस्टियानो रोनाल्डो अर्का लिजेन्ड लियोनल मेसीले कतार विश्वकपमा देखाएको जस्तै चमत्कारिक प्रदर्शन दोहोर्याउँदै टोलीलाई अघि बढाउन लालायित छन् ।
तर, बलियो स्पेनविरुद्धको खेल रोनाल्डोका लागि कठिन बन्न सक्ने अनुमान खेल विश्लेषकहरूले गरेका छन् । युरो २०२४ को च्याम्पियन टोली स्पेन दुई वर्षअघिको तुलनामा केही कम आक्रामक देखिए पनि टोलीको आपसी तालमेल र क्लब फुटबल शैलीको प्रदर्शनले पोर्चुगलका लागि फलामको चिउरा साबित हुने निश्चित छ ।
पछिल्लो समय स्पेनको अग्रपङ्क्ति अल्भारो मोराटाको स्थानमा मिकेल ओयार्जाबालले सम्हालेपछि चुस्त देखिएको छ । ओयार्जाबालले जारी प्रतियोगितामा ४ गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला १६ खेलमा १७ गोलको सानदार रेकर्ड बनाएका छन् ।
खेलमा नियन्त्रण जमाउने स्पेनको रणनीतिलाई चिर्नु पोर्चुगलका लागि मुख्य चुनौती हुनेछ ।
ऐतिहासिक रूपमा यी दुई छिमेकीहरूबिच सन् १९२१ यता ४३ पटक प्रतिस्पर्धा भइसकेको छ । जसमा पोर्चुगलले मात्र ७ पटक जित निकाल्न सकेको छ ।
मङ्गलवार बिहान पौने १ बजे सुरु हुने महाभिडन्तका लागि दुवै टोली सम्भावित बलियो सेटका साथ मैदान उत्रने तयारीमा छन् ।
अर्को खेलमा संयुक्त राज्य अमेरिकाले अन्तिम १६ को लागि बेल्जियमविरुद्ध खेल्दैछ । बिहान ५ः ४५ बजे शुरु हुने खेल महत्त्वपूर्ण खेलका रुपमा अमेरिकाले लिएको छ । तर, जारी फिफा विश्वकप २०२६ मा आयोजक संयुक्त राज्य अमेरिकाका स्टार फरवार्ड फ्लोरियान बालोगनले पाएको रातो कार्डलाई फिफाले नाटकीय रूपमा उल्ट्याइदिएपछि अहिले फुटबल जगतमा अनेकौँ अनुत्तरित प्रश्नहरू उब्जिएका छन् ।
अन्तिम ३२ को खेलमा बोस्निया–हर्जगोभिना विरुद्धको जितका क्रममा रातो कार्ड पाएका बालोगन अब बेल्जियमविरुद्ध हुने अन्तिम १६ को महत्त्वपूर्ण खेलका लागि उपलब्ध हुने भएका छन् । उनी जारी प्रतियोगितामा तीन गोलसहित अमेरिकाका लागि सर्वाधिक गोलकर्ता हुन् ।







प्रतिक्रिया राख्नुहोस्