तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो । 

सभामुख अर्यालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन निर्देशन दिनुभएको हो । 

बैठकमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेता आङ्देम्बेले संसदमा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउनुभयो ।

वालेन्द्र शाह नेतृत्वको सरकारका १०० दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै नेता आङ्देम्बेले सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र यथार्थबिच ठुलो खाडल रहेको टिप्पणी गर्नुभयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नसकिने भए पनि संविधानका मूलभूत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसक्ने बताउनुभयो ।

अध्यक्ष राईले सङ्घीयता, समावेशी र धर्मनिरपेक्षताका कुरामा तलमाथि हुने गरी संविधानमा दक्खल अन्दाज गर्न खोजियो भने देशमा दुर्घटना निम्तिने भन्दै संविधानका आधारभूत विषय नचलाई आवश्यक सुधार गर्न सकिने बताउनुभयो ।

बैठकको विशेष समयमा नेकपा एमालेका सांसद गुरु बरालले सरकारको सय दिनको कार्यकाल लोकतान्त्रिक मूल्य, कानुनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको भन्दै सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । 

बैठकमा सांसदहरुले मौलिक हक कार्यान्वयन, विपद् व्यवस्थापन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधानलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरूले उद्योग, होटल तथा कर्पोरेट क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाली श्रम बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले विद्युतीय सवारी साधनको आयातका क्रममा कर छली भएको आशङ्का बढ्दै गइरहेको उल्लेख गर्दै त्यसको छानबिन गरी राजस्व सङ्कलन गर्न सुझाव दिनुभयो । 

सांसदहरुले खेती प्रणाली, माटो परीक्षण, मल बीउको उपयोगलगायत विषयमा किसानलाई तालिम दिन तथा राष्ट्रिय राजमार्गमा ढाट राखेर अवैध असुली गर्नेमाथि कारबाही गर्न माग गर्नुभयो । 

सांसदहरुले सांसदहरुले सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी दैलेखको कर्णाली नदिमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसकेको र मृतक र घाइतेको एकिन तथ्याङ्क सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले कर्णालीका नागरिकले सडकको दुरावस्थाका कारण सधैँ जोखिमको यात्रा गर्न बाध्य रहेको र  नागरिकले अकालमा ज्याउन गुमाउनु परिरहेको भन्दै कर्णालीमा सडक दुर्घटना न्यूनीकरण गर्ने योजना ल्याउन सरकालाई रुलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो ।

सांसदहरुले सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण जनताले महशुस गर्न नसकेको, मंहगी बढिरहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको तथा जेनजी आन्दोलनमा भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध जारी राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button