तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री गुरुङद्वारा धनकुटामा अनुगमन

धनकुटा । गृहमन्त्री सुधन गुरुङले धनकुटा पुगेर सुरक्षा तथा प्रशासनिक निकायको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।  

गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्नुका साथै धार्मिक दर्शन र पारिवारिक भेटघाटसमेत गर्नुभएको हो । 

गृहमन्त्री गुरुङ शनिबार बेलुका धनकुटाको भेडेटार पुग्नुभएको थियो। आइतबार बिहान धनकुटा आउनुभएका उहाँले सबैभन्दा पहिले धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक निशान मन्दिरमा पूजा–दर्शन गर्नुभयो ।

त्यसपछि उहाँले जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला कारागार धनकुटाको अनुगमन तथा निरीक्षण गर्दै जिल्लाको शान्ति–सुरक्षा अवस्था, प्रहरीको कार्यसम्पादन तथा सेवा प्रवाहबारे जानकारी लिनुभयो ।

त्यसपश्चात् गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गरी नागरिकलाई प्रदान गरिने सेवा, प्रशासनिक कार्यसम्पादन र समग्र सरकारी सेवा प्रवाहबारे जानकारी लिनुभयो । निरीक्षणका क्रममा उहाँले कुनै सार्वजनिक प्रतिक्रिया भने दिनुभएन । 

अनुगमनपछि गृहमन्त्री गुरुङले धनकुटा नगरपालिका–५ मा पारिवारिक भेटघाट गर्नुभयो। त्यसपछि उहाँ सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button