तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।

उहाँले आयोजनाको सफल कार्यान्वयनले बाँकेको कृषि उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणपछि आयोजना कर्मचारी तथा लाभान्वित किसानसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो। उहाँले आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो। बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल, प्रभावकारी र छरितो बनाइने उहाँको भनाइ थियो।

मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण र अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र क्रमशः सङ्कुचित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले सिँचाइ पूर्वाधार निर्माणसँगै किसानका खेतसम्म पानी पुर्‍याउने मात्र नभई कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बिउ र मलको सहज उपलब्धता तथा कृषि मूल्य शृङ्खलाको विकासमा पनि सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो

उहाँले सिक्टा सिँचाइ आयोजना पूर्वाधार निर्माणमा मात्र सीमित नरही बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा किसानको आयआर्जन बढाउने दीर्घकालीन आधार बन्ने उल्लेख गर्नुभयो। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले स्थानीय किसानसँग प्रत्यक्ष छलफल गर्दै धान रोपाइँको अवस्थाबारे जानकारी लिनुभएको थियो  भने किसानहरूले भोगिरहेका समस्या र सुझावसमेत सुन्नुभएको थियो।

बाँकेको राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना नेपाल सरकारको आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०६१/६२ मा सुरु गरिएको हो। आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भएको यस आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार कुल अनुमानित लागत करिब ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ। पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब ९ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको छ।

हाल आयोजना दोस्रो चरणको कार्यान्वयनमा रहेको छ भने आर्थिक वर्ष २०८९/९० भित्र सम्पूर्ण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाका अनुसार हालसम्म करिब ५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। यस अवधिसम्म करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

आयोजनाअन्तर्गत अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण सम्पन्न भइसकेको छ। पश्चिमतर्फ ५० क्यूमेक्स क्षमताको ४५.२५ किलोमिटर मूल नहर तथा पूर्वतर्फ १४.५ क्यूमेक्स क्षमताको ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ।

यस्तै, कुल २३३ किलोमिटरमध्ये ७७.५९ किलोमिटर शाखा तथा उपशाखा नहर निर्माण, करिब ३० किलोमिटर तटबन्ध निर्माण, नहर तथा संरचना निर्माणका लागि १८७ हेक्टर जमिन अधिग्रहण, किसान व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको आधुनिकीकरण, विभिन्न जलाशय निर्माण तथा कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button