तपाईँ सुन्दै हुनुहुन्छः

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ  दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न विधाका एक हजार पाँच सय २७ विद्यार्थी दीक्षित भएका छन् । 

शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये ११ दशमलब ७२ प्रतिशत नेपालबाहेक अन्य सात देशका रहेका छन् । 

समारोहमा पोखरेलले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा एक हजार ५२७ जना विद्यार्थीमध्ये स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना दीक्षान्त भएका छन् ।

यस वर्ष केयूले पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका २६, डक्टर मेडिसिन इन निओनाटालोजी अन्तर्गत तीन तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमेष्ट्री एण्ड मोलिक्यूर बायोलोजीअन्तर्गत चार जना विद्यार्थीलाई विभिन्न उपाधि प्रदान गरिने जनाइएको छ । 

समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको  छ । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी सिजीपीए ३ दशमलव ९९ प्राप्त गरी ब्याचलर अफ इञ्जिनियरिङ इन कम्प्युटर इञ्जिनियरिङ उत्तीर्ण गर्नुभएकी रिस्ता श्रेष्ठ तथा महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजीपीए ३ दशमलब ९७ प्राप्त गरी मास्टर अफ एजुकेशन इन लिडरसिप एण्ड म्यानेजमेन्ट उत्तीर्ण गर्ने अञ्जु कुमारीलाई प्रदान गरियो । 

दीक्षित हुनेमध्ये विद्यावारिधि तहका २१, एमफिल/माष्टरबाई रिसर्चका ९३, स्नातकोत्तर तहका २७९, पिजिडिई तहका दुई तथा स्नातक तहका एक हजार १३२ विद्यार्थी रहेको जनाइएको छ । दीक्षितमध्ये अस्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ विद्यार्थी रहेको जानकारी दिइयो । विश्वविद्यालयका अनुसार यो सङ्ख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत अधिक हो ।

आजको दीक्षान्तपछि केयूबाट दीक्षित हुने विद्यार्थीको सङ्ख्या ५१ हजार ५६७ पुगेको छ । दीक्षितमध्ये छ हजार ३९ जना विदेशी विद्यार्थी अर्थात् कूल उत्तीर्णको करिब १२ प्रतिशत पुगेको छ । दीक्षित हुनेमध्ये ५२ दशमलव ३९ प्रतिशत पुरुष र ४७ दशमलव ६१ प्रतिशत महिला विद्यार्थी रहेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button