नेपालीहरूको जीवन दर्शन शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनुभएको छ ।

रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरूप दिएर विश्व शान्ति, प्रगति र मानव कल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।’
राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको चार्टर लेखनमा रोटरीले दिएको योगदान सदैव स्मरणीय रहेको भन्दै राष्ट्रपति पौडेलले भन्नुभयो – ‘यो मात्र होइन पोलियो उन्मूलन, भविष्यका नेतृत्वकर्ता निर्माण गर्न प्रतिभाशाली युवाहरूलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्ति प्रदानसहित नेपाल र भुटानमा रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा दिएको योगदान उदाहरणीय छ ।’
कार्यक्रममा १४ जना पूर्व डिस्ट्रिक गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्