तपाईँ सुन्दै हुनुहुन्छः

समयमै वर्षा नहुँदा सल्यानमा धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्र रोपाइँ सम्पन्न

सल्यान । समयमै मनसुन सक्रिय नहुँदा सल्यानमा धान रोपाइँ प्रभावित भएको छ । 

गत वर्ष असारको दोस्रो सातासम्म ६० प्रतिशतभन्दा बढी धान खेती भइसकेको भएता पनि यस वर्ष भने वर्षा नहुँदा जिल्लाभर ४५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । 

वर्षाद नहुँदा धान रोपाइँ कम भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । गत वर्षको तुलनामा कम भए पनि रोपाइँ गर्ने समय बाँकी रहेकाले वर्षाद हुनासाथ रोपाइँ ह्वात्तै बढ्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो । 

रोपाइँका लागि खेत जोतेर किसानले खेत तयार पारे पनि पानीको मुहान आसपासमा मात्र किसानहरुले धान खेती गर्न सकेको आचार्यको भनाई छ  । शारदा नदी आसपास, सिद्ध कुमाख, दार्मा, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका केही क्षेत्रमा मात्र खेती भएको छ । ६ हजार २९ हेक्टरमा वर्षे धान खेती हुँदै आइरहेको सल्यानमा हालसम्म अझै २ हजार ७ सय हेक्टरमा मात्र खेती भएको कार्यालयले जनाएको छ । किसानको खेतसम्म सिँचाई कुलो पुगे पनि वर्षात नहुँदा रोपाइँ प्रभावित भएको आचार्यको भनाई छ । 

गत वर्ष सल्यानमा ६ हजार २९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा २८ हजार ९ सय ५८ मेट्रिकटन धान उत्पादन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button