तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा १० प्रतिशत धान रोपाइँ सम्पन्न

रौतहट। असारको आधा बित्दासम्म पनि पर्याप्त वर्षा नहुँदा रौतहटमा धान रोपाइँ अपेक्षाअनुसार हुन सकेको छैन।

राष्ट्रिय धान दिवस मनाइरहेका बेला जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा अधिकांश धान खेत अझै बाँझै रहेका छन् भने किसान वर्षाको प्रतीक्षामा छन् ।

कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारी क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहे पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित बनेको छ।

उहाँले रौतहटमा धान खेती मुख्यतः आकाशे पानीमा निर्भर रहने भएकाले समयमै वर्षा नहुँदा किसानले रोपाइँ गर्न नसकेको जानकारी दिनुभयो । “वर्षाको भरमा खेती गर्ने चलन भएकाले र सिँचाइ नहरमा पनि अहिलेसम्म पानी नछोडिएकाले १० प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन,” सूचना अधिकारी मण्डलले भन्नुभयो । “यसपटक मनसुन राम्रो हुने अनुमान गरिए पनि रौतहटमा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा नभएकाले किसान चिन्तित छन् ।”

विगत चार दिनयता जिल्लाका विभिन्न स्थानमा वर्षा हुन थाले पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामका कारण खेतबारी पूर्ण रूपमा सुकिसकेका थिए । अहिले परेको पानीले खेतमा केही चिस्यान बढे पनि व्यापक रुपमा रोपाइँ गर्न पुग्ने अवस्था नरहेको गढिमाई-४ का किसान नरेन्द्र ठाकुरको भनाइ छ ।

गौर नगरपालिका–६ टिकुलियाका किसान हरदेव साहले समयमै पानी नपर्दा धान खेती अन्योलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी वर्षाको भरमा खेती गर्ने किसान हौँ । लामो समयसम्म पानी नपर्दा खेत सुक्यो । पम्पसेटबाट पानी तानेर सिँचाइ गर्दा खर्च अत्यधिक लाग्छ, त्यसैले सबै किसानका लागि त्यसरी खेती गर्नु सम्भव हुँदैन । अहिले केही पानी परे पनि अझै निरन्तर वर्षा भए मात्रै रोपाइँले गति लिन्छ । ढिलो रोपाइँ हुँदा उत्पादन पनि घट्ने चिन्ता छ ।”

किसानहरूका अनुसार निजी रुपमा पम्पसेट प्रयोग गरेर सिँचाइ गर्न डिजेल, मजदुरी र अन्य खर्च अत्यधिक लाग्ने भएकाले अधिकांश किसान प्राकृतिक वर्षामै निर्भर छन् । सिँचाइ नहरमा समेत हालसम्म पानी नछोडिएकाले वैकल्पिक व्यवस्था अभावमा किसान थप समस्यामा परेका छन् ।

कृषि विज्ञहरूका अनुसार असार महिनाभित्र अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न हुनुपर्ने भए पनि वर्षा ढिलो हुँदा बालीको उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ । समयमै रोपाइँ हुन नसके बिरुवाको वृद्धि प्रभावित हुने र अन्ततः उत्पादन घट्ने सम्भावना रहने गढिमाइ-४ पर्साका किसान अनौठा राउतको भनाइ छ ।

रौतहटमा धान मुख्य खाद्यान्न बालीका रुपमा खेती गरिन्छ । जिल्लाको ठूलो जनसङ्ख्याको जीविकोपार्जन कृषि पेसामा आधारित भएकाले धान रोपाइँमा भएको ढिलाइले किसानको आम्दानीसँगै समग्र कृषि उत्पादनमा समेत प्रभाव पार्ने देखिएको छ ।

कृषि ज्ञान केन्द्रले मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिने अपेक्षा गरेको छ । किसानहरुले पनि पर्याप्त वर्षा र सिँचाइ नहरमा शीघ्र पानी छोड्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button