२३औँ राष्ट्रिय धान दिवस: उदयपुरमा १८ उत्कृष्ट कृषक सम्मानित
उदयपुर। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर मनाइएको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उदयपुरमा पनि उत्साह, उल्लास र कृषिप्रति नयाँ प्रतिबद्धतासहित सम्पन्न भएको छ।

कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा उत्कृष्ट कृषकहरूको सम्मान, सामूहिक धान रोपाइँ तथा कृषि क्षेत्रका चुनौती र सम्भावनाबारे गहन छलफल समेत गरिएको थियो।
त्रियुगा नगरपालिका–७ चिसापानीमा आयोजित कार्यक्रममा कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवार, प्रदेशसभा सदस्य गीता रेग्मी र सम्झना पाख्रिन, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेय, उदयपुर जिल्ला अदालतका मुख्य न्यायाधीश मुकेश उपाध्याय, त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख तथा वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादव, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी तथा किसानहरू खेतमै उत्रिएर सामूहिक रूपमा धान रोपाइँ गरेका थिए। असार १५ को सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै सहभागीहरूले दही–चिउरा सेवन गरी राष्ट्रिय धान दिवसलाई उत्सवका रूपमा मनाएका थिए।

यस अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका १८ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले जानकारी दिनुभयो। सम्मानित कृषकलाई जनही एक हजार पाँच सय रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो।

नगर प्रमुख बस्नेतले कृषिलाई सम्मानित र मर्यादित पेसाका रूपमा स्थापित गर्न स्थानीय सरकारले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै वास्तविक किसानलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले कृषि क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषिलाई प्रविधिमैत्री, व्यावसायिक र आत्मनिर्भर बनाउने अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवारले कृषि क्षेत्रमा राज्यको लगानी बढ्दै गए पनि त्यसअनुसार उत्पादन र उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। उहाँले कृषि अनुदान पहुँच, प्रभाव वा पहुँचवालाको आधारमा नभई वास्तविक उत्पादन गर्ने किसानसम्म पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
अन्य वक्ताहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा नयाँ चुनौती थपिँदै गएको उल्लेख गर्दै अब परम्परागत खेती प्रणालीले मात्र उत्पादन वृद्धि सम्भव नरहेको धारणा राखे। उनीहरूले आधुनिक प्रविधिको प्रयोग, भरपर्दो सिँचाइ, गुणस्तरीय बीउ, कृषि यान्त्रीकरण तथा बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
वक्ताहरूले कृषि आत्मनिर्भरताको आधार भएकाले किसानलाई सम्मान गर्ने मात्र नभई उनीहरूको उत्पादनको उचित मूल्य, सहज बजार पहुँच र आधुनिक प्रविधिको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको बताए। साथै कृषि पेसालाई सम्मानजनक र युवापुस्ताका लागि आकर्षक बनाउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो।
२५ प्रतिशत रोपाइँ सम्पन्न
यसैबीच, उदयपुरमा यस वर्षको धान रोपाइँ क्रमशः गति लिन थालेको छ। कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लाको कुल १३ हजार ११२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म तीन हजार २७८ हेक्टर (करिब २५ प्रतिशत) क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार हालसम्मको रोपाइँ सामान्य अवस्थाकै हो। उदयपुरको मुख्य धान उत्पादन हुने भित्री मधेस क्षेत्रमा असारको मध्यतिरबाट रोपाइँ सुरु हुने भएकाले आगामी एक साताभित्र रोपाइँले तीव्र गति लिने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार पछिल्ला केही दिनमा परेको वर्षापछि बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका, उदयपुरगढी र रौतामाई गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ उल्लेखनीय रूपमा बढेको छ। मौसम अनुकूल रहे यस वर्ष धान उत्पादन पनि सन्तोषजनक हुने अपेक्षा गरिएको उहाँको भनाइ छ।
यस वर्षको राष्ट्रिय धान दिवस उदयपुरका बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका तथा कटारी नगरपालिकालगायत अन्य स्थानीय तहहरूमा पनि कृषक सम्मान, सामूहिक रोपाइँ तथा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको थियो। धान दिवसले किसानको श्रमको सम्मान गर्दै कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता र देशलाई धानमा आत्मनिर्भर बनाउने अभियानमा थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।








प्रतिक्रिया राख्नुहोस्