तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी। जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान रोपाइँमा समस्या परेको छ । जिल्लामा यस वर्ष हालसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । 

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार आइतबारसम्म ७१९.५१ हेक्टर अर्थात् ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस वर्ष धानखेती हुने अनुमान गरिएको ६ हजार ५४१ हेक्टर क्षेत्रफलमध्ये राष्ट्रिय धान दिवस मनाइँदै गर्दा जिल्लाका अधिकांश खेत अझै बाँझै छन् । 

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले पर्याप्त वर्षा नहुँदा पानीको अभावले यस वर्ष धान रोपाइँ प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार, जिल्लाका अधिकांश ठूला फाँटहरूमा पानीको अभावका कारण रोपाइँ हुन सकेको छैन । वर्षा भएपछि मात्र रोपाइँले गति लिनेछ ।

इस्मा गाउँपालिका–६ चौरासी फाँटका अगुवा कृषक कृष्ण घिमिरेका अनुसार गत वर्ष असार १५ सम्म जिल्लाको सबैभन्दा ठूलो फाँट चौरासी फाँटमा ८० प्रतिशत धान रोपाइँ भएको थियो । 

यस वर्ष भने उक्त फाँटमा आईतबारसम्म  करिब १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमै वर्षा नहुनु, सिँचाइको अभाव र रासायनिक मल सहज रूपमा उपलब्ध नहुनुले किसान समस्यामा परेको कृषक घिमिरेले बताउनुभयो ।

धुर्कोट गाउँपालिका–६ सिस्तुङका किसान मेघनाथ अर्यालले पनि पर्याप्त पानीको अभावका कारण समयमा धान रोप्न नसकिएको बताउनुभयो । यस वर्ष रोपाइँका लागि पानी नभएको कारण केही ढीला हुने उहाँले बताउनुभयो । 

गुल्मीका अधिकांश धान उत्पादन हुने क्षेत्र अझै पनि आकाशे पानीमा निर्भर छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भएको र यसले यस वर्षको धान उत्पादनमा समेत असर पार्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट राम्रो धान उत्पादन हुने क्षेत्रकारुपमा परिचय छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button