तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनबाट बैतडीमा करिब १८ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान, पूर्वतयारी तीव्र

बैतडी। बैतडीमा यस वर्षको मनसुनका कारण करिब १८ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ अनुसार जिल्लाका ३ हजार ६५४ घरधुरीका १७ हजार ८९४ नागरिक बाढी, पहिरो र नदी कटानबाट प्रभावित हुन सक्ने आकलन गरिएको हो । 

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार विगत १० वर्षका विपद्का घटनाको तथ्याङ्कका आधारमा जोखिमको मूल्याङ्कन गरिएको हो । सम्भावित विपद्को प्रभाव न्यूनीकरणका लागि आवश्यक पूर्व तयारीसमेत पूरा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्का बेला सुरक्षा निकायहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ र सबै निकाय तयारी अवस्थामा छन् । साथै, जिल्लाका सबै स्थानीय तहलाई मनसुन पूर्वतयारी योजना तयार गरी आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्न निर्देशन दिइएको छ। स्थानीय तहहरूले पनि आवश्यक तयारी भइरहेको बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको प्रतिकार्य योजनाअनुसार पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिका बाढी, पहिरो तथा नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।

पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले सम्भावित विपद्को सामना गर्न आवश्यक स्रोत–सामग्री तयारी अवस्थामा राखिएको र आवश्यक परे तत्काल परिचालन गरिने बताउनुभयो ।

जिल्लाको पाटन नगरपालिकाले पनि मनसुनको लागि पूर्व तयारी योजना बनाएर आवश्यक सामाग्रीको प्रबन्ध गरिएको नगर प्रमुख गौरी सिंह रावलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button