पारो–लुम्बिनी सिधा उडान प्रस्तावसँगै बलियो बन्दै नेपाल–भुटान बुद्धमार्गीय सहकार्य

रुपन्देही। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको शिलान्याससँगै नेपाल र भुटानबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सहकार्यले नयाँ आयाम पाएको छ।
शनिबार लुम्बिनीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय भेटवार्तामा नेपालले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबिच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश)ले भुटानका गृहमन्त्री ल्योन्पे छिरिङसमक्ष उक्त प्रस्ताव राख्नुभएको हो।
दुवै देशका प्रतिनिधिबीच धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा केन्द्रित भएर छलफल भएको थियो।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्राको प्रमुख केन्द्रका रूपमा विकास गर्न भुटानसँग प्रत्यक्ष हवाई सम्पर्क आवश्यक रहेको धारणा राखेको छ।
नेपाली पक्षले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट निर्माण गर्न सके दक्षिण एशियाली बौद्ध पर्यटनमा नयाँ सम्भावना सिर्जना हुने विश्वास व्यक्त गरेको छ। यसबाट लुम्बिनीमा विदेशी पर्यटकको आगमन बढ्नुका साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता पनि विस्तार हुने अपेक्षा गरिएको छ।
द्विपक्षीय वार्तामा नेपाली नागरिकमाथि भुटानले लागू गर्दै आएको दिगो विकास शुल्क (एसडीएफ) को विषय पनि उठाइएको थियो। हाल नेपाली नागरिकले भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ।
मन्त्री पौडेलले नेपाल र भुटानबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकका लागि विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गर्नुभयो। उहाँले भारत र बङ्गलादेशका नागरिकलाई उपलब्ध गराइएसरह नेपाली पर्यटकलाई पनि सहुलियत दिनुपर्ने प्रस्ताव राख्नुभएको थियो।

भुटानी पक्षले नेपालका प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सरकारी तहमा थप अध्ययन र छलफल गर्ने प्रतिबद्धता जनाएको निमित्त सदस्य सचिव राईले जानकारी दिनुभयो।
यसैबीच, लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको औपचारिक शिलान्यास सम्पन्न भएको छ। लुम्बिनी विकास कोषले गुम्बा निर्माणका लागि एक बिघा जग्गा उपलब्ध गराएको छ। निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
भुटानका धर्मगुरु उपमहासङ्घराजा दोर्जे लोपेन रिम्पोछे, गृहमन्त्री ल्योन्पे छिरिङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले संयुक्त रूपमा धार्मिक विधिअनुसार गुम्बाको शिलान्यास गर्नुभएको थियो। शिलान्यासअघि भुटानी लामागुरुले विशेष पूजा तथा भूमि पूजन गरेका थिए। भुटानी परम्पराअनुसार सम्पन्न धार्मिक अनुष्ठानले कार्यक्रममा आध्यात्मिक गरिमा थपेको थियो।
भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक नाफ्सो दोर्जीले लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु हुनु आफ्नो देशका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले यो परियोजना केवल भौतिक संरचना निर्माणमा सीमित नरही भुटानी आस्था, संस्कृति र बुद्धप्रतिको श्रद्धाको जीवन्त प्रतीक बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला तथा सांस्कृतिक विशेषता समेटिनेछ। निर्माण सम्पन्न भएपछि विश्वभरबाट लुम्बिनी आउने तीर्थयात्री तथा पर्यटकले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
भुटान सरकार र लुम्बिनी विकास कोषबीच गत वर्ष भएको समझदारीपत्रअनुसार निर्माण कार्य अघि बढाइएको हो। पहिलो चरणअन्तर्गत सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको छ भने अब मुख्य गुम्बा निर्माण सुरु गरिनेछ।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट सांसद तौफिक अहमद खाँन र कन्हैया बनियाको सहभागिता थियो। भुटानका तर्फबाट नेपालका लागि भुटानी राजदूत मेजर जनरल भेत्सोप नामग्येल, गृह सचिव तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
भुटानी गुम्बाको शिलान्याससँगै लुम्बिनीमा बुद्धमार्गीय कूटनीति, धार्मिक पर्यटन तथा सांस्कृतिक सहकार्यको नयाँ अध्याय सुरु भएको लुम्बिनी विकास कोषले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्