पाेखरामा भारतीय पर्यटकको घुइँचो,होटलको अकुपेन्सी ९० प्रतिशत पुग्यो
लेखनाथ (कास्की), असार १० – पर्यटकीय राजधानी पोखरामा पछिल्लो डेढ महिनायता भारतीय पर्यटकको उल्लेख्य आगमन भएपछि यहाँका होटल तथा पर्यटन व्यवसायमा उत्साह थपिएको छ। यतिबेला लेकसाइड क्षेत्र, फेवाताल र तालबाराही मन्दिरमा भारतीय पर्यटकको बाक्लो चहलपहल देख्न सकिन्छ।
होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, मुक्तिनाथ लगायत विभिन्न पदयात्रा क्षेत्रमा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ।
भारतमा बढ्दो गर्मीबाट राहत पाउन र बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई सहज तथा आकर्षक गन्तव्यका रूपमा रोज्न थालेको अध्यक्ष सुवेदीले बताउनुभयो। उहाँले पोखरामा आउने पर्यटकको स्वागत र सम्मान गर्नु पर्यटन व्यवसायीको दायित्व भएको उल्लेख गर्नुभयो।
भारतीय पर्यटकको आगमनसँगै डुङ्गा सयर, पदयात्रा, प्याराग्लाइडिङ, बञ्जी जम्प, ¥याफ्टिङलगायत साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा पनि वृद्धि भएको छ। फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकका अनुसार फेवातालमा दैनिक चारदेखि पाँच हजार भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेका छन्।
“पछिल्लो डेढ महिनादेखि भारतीय पर्यटकको उपस्थिति उल्लेख्य छ। अधिकांश पर्यटक तालको बीचभागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न रुचाउँछन्,” विकले भन्नुभयो। उहाँका अनुसार बाराही घाटबाट मात्र दैनिक १४० वटा डुङ्गा सञ्चालन भइरहेका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा करिब डेढ लाख भारतीय पर्यटक पोखरा भित्रिएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पर्यटक धार्मिक स्थलको भ्रमणसँगै छोटो दूरीका पदयात्रा, प्याराग्लाइडिङ, बञ्जी जम्प, डुङ्गा सयर तथा ¥याफ्टिङमा आकर्षित भएका छन्।
पर्यटन व्यवसायीका अनुसार भारतीय पर्यटकको आगमनले पाँचतारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ भएका छन्। हाल पोखराका होटलहरूको अकुपेन्सी दर ९० प्रतिशत पुगेको व्यवसायीहरूको भनाइ छ।
होटल व्यवसायी पार्वती पाण्डेका अनुसार भारतीय पर्यटकले कोठाभन्दा खानाको मूल्यमा बढी मोलमोलाइ गर्ने गरेका छन्। “भारतमा होटलका कोठा तुलनात्मक रूपमा महँगा हुने भएकाले उनीहरू रुममा धेरै वार्गेनिङ गर्दैनन्,” उहाँले भन्नुभयो।
पर्यटन व्यवसायीहरूले सामान्यतया यस अवधिलाई ‘अफसिजन’ मान्ने गरे पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि व्यवसायीहरू उत्साहित बनेका छन्। नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको उनीहरूको भनाइ छ।
पोखरामा दैनिक करिब १० हजार पर्यटकलाई आवास सुविधा उपलब्ध गराउन सक्ने क्षमता रहेको छ। भारतीय पर्यटक विशेषगरी तालबाराही, विन्ध्यवासिनी, पुग्दीको शिवमन्दिर, केदारेश्वर, मुक्तिनाथ तथा मनकामना मन्दिर भ्रमणमा जाने गरेका छन्।
पर्यटन व्यवसायीहरूले नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भारतमा थप प्रभावकारी प्रचारप्रसार गर्न सके भारतीय पर्यटकको आगमन अझ बढ्न सक्ने विश्वास व्यक्त गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्