तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रियामाथि अर्जेन्टिनाको सहज जित, मेसीद्वारा विश्वकपमा नयाँ कीर्तिमान

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले टोलीका लागि दुवै गोल गर्दै ऐतिहासिक कीर्तिमानसमेत कायम गरे। खेलको ३८औँ मिनेटमा गोल गर्दै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन्।

उक्त गोलसँगै मेसीको विश्वकप गोल संख्या १७ पुगेको थियो। यसअघि जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा १६ गोलसहित सर्वाधिक गोलको कीर्तिमान रहेको थियो।

३८ वर्षीय मेसीले केही दिनअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध गोल गर्दै उनले उक्त कीर्तिमान आफ्नो नाममा लेखाए।

मेसीले इन्जुरी समयको अन्त्यतिर अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। यससँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ।

लगातार दोस्रो जित निकालेको अर्जेन्टिनाको दुई खेलबाट ६ अंक भएको छ। अष्ट्रियाको ३ अंक छ भने जोर्डन र अल्जेरिया अझै अंकविहीन छन्। समूहमा एक खेल बाँकी रहँदा अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button