राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपराह्न अवलोकन गर्नुभएको छ ।

ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सरिक भई उहाँले प्रथम महिला सबिता पौडेलसहित जात्रा अवलोकन गर्नुभएको हो ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । गुठी संस्थानका कर्मचारीले सो भोटो देखाउनुभएको थियो । राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभएको थियो ।
मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।






प्रतिक्रिया राख्नुहोस्