निकोकप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कोशीको जीत

जनकपुरधाम । जनकपुरधाममा आज देखि शुरु भएको निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा कोशीले जित निकालेको छ ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा मधेशलाई कोशीले २० ले पराजित गरेको हो ।
पहिला व्याटिङ्ग गरेका कोशी प्रदेशका महिला टिमले २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १२० रन बनाएका थिए । कोशीका तर्फबाट काजल श्रेष्ठले ६२ बल खेल्दै टिमका लागि ५० रनको महत्वपूर्ण योगदान दिँदै नट आउट रहनु भएका थिए । कोशीकै अप्सारी वेगमले १५, रुवीना क्षेत्री १५ र प्रीन्सा राना मगरले २० रनको योगदान दिनु भएको थियो ।
बलिङमा मधेशका सुस्मिता यादवले २ विकेट, प्रतिमा साह र मोनिका साहले समान १–१ विकेट लिनु भएको थियो । १२१ रनको लक्ष्य सहित खेल मैदानमा आएका मधेशले २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १०० रन मात्र बनाउन सक्यो ।
मधेशका अनुराधा चौधरीले ३४, साना प्रविनले ३२ तथा सरस्वती चौधरीले ११ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड सकेनन् । कोशीको तर्फबाट रिया शर्मा र टिका साहले समान २–२ विकेट र अलिशा केडियाले १ विकेट लिएका थिए । आजको खेलमा ५० रनको महत्वपूर्ण पारी खेल्नु भएका कोशी प्रदेशका काजल श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित हुनु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्