गौरमा २६७४ ग्राहकको लाइन काटियो, बक्यौता असुली अभियान तीव्र
रौतहट । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरले बक्यौता महसुल असुली तथा विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा २ हजार ६७४ ग्राहकको लाइन काटेको छ ।
वितरण केन्द्र गौरका प्रमुख धीरेन्द्र यादवका अनुसार ती ग्राहकबाट १२ करोड ६८ लाख ४१ हजार ५ रुपैयाँ ३५ पैसा बक्यौता रहेको थियो ।
लाइन काटिएका मध्ये २ हजार ६०२ ग्राहकले बक्यौता बुझाएपछि पुनः लाइन जडान गरिएको छ। ती ग्राहकबाट हालसम्म ८ करोड ५९ लाख ५४ हजार २९ रुपैयाँ ५० पैसा असुली भएको उनले जानकारी दिए। अझै ठूलो रकम बक्यौता असुली हुन बाँकी रहेको छ ।
त्यसैगरी कालोपट्टीमा परेका ९२ ग्राहकबाट ३६ लाख ६६ हजार ६९४ रुपैयाँ ३६ पैसा असुली गरिएको छ भने विद्युत चोरी तथा अनधिकृत प्रयोग नियन्त्रण अभियानअन्तर्गत १९२ जनाबाट २२ लाख ९ हजार ३१९ रुपैयाँ राजस्व संकलन गरिएको वितरण केन्द्रले जनाएको छ ।
प्रमुख यादवले विद्युत महसुल नतिर्ने र अनधिकृत रूपमा विद्युत प्रयोग गर्ने प्रवृत्ति नियन्त्रणका लागि नियमित अनुगमन र कारबाही जारी राखिएको बताए। उनले समयमै महसुल तिर्ने उपभोक्ताको हित संरक्षण र प्राधिकरणको राजस्व सुरक्षित राख्न अभियान सञ्चालन गरिएको उल्लेख गरे ।
उनले विद्युत चोरी र बक्यौता दुवै प्राधिकरणका लागि गम्भीर चुनौती भएको भन्दै सेवा लिएर महसुल नतिर्ने तथा अनधिकृत प्रयोग गर्ने कार्यलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे ।
वितरण केन्द्रले आगामी दिनमा पनि बक्यौता असुली, चुहावट नियन्त्रण तथा अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ। अभियानबाट राजस्व संकलनमा सुधार आएको तथा विद्युत चोरी नियन्त्रणमा सकारात्मक प्रभाव परेको केन्द्रले दाबी गरेको छ।







प्रतिक्रिया राख्नुहोस्