धान सुपरजोनको अनुभवले जानकीका किसान उत्साहित
बाँके। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाइ बर्दियाले सञ्चालन गरिरहेका जोन तथा सुपरजोन कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन तथा अनुभव आदानप्रदानका लागि अन्तरनिकाय संयुक्त अनुगमन सम्पन्न गरेको छ।
बाँकेको जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषक सम्मिलित टोलीले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालित धान सुपरजोन कार्यक्रमको स्थलगत अवलोकन गरेको हो। टोलीले व्यावसायिक चैते धान खेती, उत्पादन प्रणाली, सिँचाइ व्यवस्थापन तथा कृषकका अनुभवबारे जानकारी लिएको थियो।

परियोजना कार्यान्वयन एकाइ बर्दियाका नायब प्राविधिक सहायक गणेश रसाइलीले राजापुर नेपालकै उच्च धान उत्पादन हुने क्षेत्रमध्ये एक रहेको बताउँदै चैते धान खेतीलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरिएको जानकारी दिनुभयो। उहाँले धान, केरा तथा माछा जोन र सुपरजोन कार्यक्रममार्फत उत्पादन वृद्धि, आयआर्जन र कृषि व्यवसायीकरणमा योगदान पुगिरहेको बताउनुभयो।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले परियोजनाले कृषकको आवश्यकता अनुसार प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार यस वर्ष गाउँपालिकामा पहिलो पटक ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती गरिएको छ। राजापुरको सफल अभ्यासले स्थानीय किसानलाई व्यावसायिक चैते धान खेतीतर्फ आकर्षित गरेको उहाँको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सिँचाइ सुविधा विस्तार गरी जानकी गाउँपालिकामा चैते धानको ‘पकेट क्षेत्र’ विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राजापुरकी कृषक निलम चौधरीले विगत नौ वर्षदेखि चैते धान खेती गर्दै आएको अनुभव सुनाउँदै बर्खे धानको तुलनामा यसको उत्पादन बढी हुने भए पनि उचित बजार मूल्य नपाउँदा किसान चिन्तित रहेको बताउनुभयो।
अनुगमनमा सहभागी सहकारी प्रतिनिधि तथा कृषकहरूले परियोजनाबाट प्राप्त प्राविधिक तथा संस्थागत सहयोगले कृषि कार्यलाई सहज बनाएको बताएका छन्। सहभागीहरूले राजापुरको सफल अनुभवले जानकी गाउँपालिकामा पनि व्यावसायिक चैते धान खेती विस्तारको सम्भावना बढाएको निष्कर्ष निकालेका छन्।







प्रतिक्रिया राख्नुहोस्