निःशुल्क मुटु–मिर्गौला शिविरले स्थानीय नागरिकलाई ठूलो राहत
कृष्णनगर। कपिलवस्तुको कृष्णनगर नगरपालिकाको समन्वय तथा विभिन्न राष्ट्रिय स्वास्थ्य संस्थाहरूको सहकार्यमा शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालन गरिएको निःशुल्क मुटु, मिर्गौला तथा बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना बिरामी लाभान्वित भएका छन्।
दुई दिनसम्म सञ्चालन भएको शिविर सेभ द हार्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा सम्पन्न भएको हो। शिविरमा विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक ल्याब परीक्षण सेवा प्रदान गरेका थिए।
शिविरमा मुटुरोग सम्बन्धी १ हजार ६ सय ५ जना, मिर्गौला रोगका ४ सय ८ जना, स्त्री तथा प्रसूति रोगका ४ सय ६ जना, मानसिक स्वास्थ्यका २ सय १६ जना, हाडजोर्नी तथा नसा रोगका ८ सय ३० जना तथा नाक, कान र घाँटी (ईएनटी) सम्बन्धी ३ सय २० जनाले सेवा लिएका छन्।
त्यसैगरी शिविरमा ५ सय ९१ जनाको ईसीजी, ३ सय ८१ जनाको इको, ३ सय ६६ जनाको एक्स–रे, ७ सय ६३ जनाको ल्याब परीक्षण तथा ४ सय २३ जनाको अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले विशेषज्ञ सेवा घरदैलोमै पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुग्ने उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले शिविरबाट हजारौं नागरिक प्रत्यक्ष लाभान्वित भएको भन्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिकको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो।
कार्यक्रमका सम्पर्क व्यक्ति डा. दुर्गेश चौधरीले अपेक्षाभन्दा बढी नागरिकको सहभागिता रहेको जानकारी दिँदै विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताउनुभयो। उहाँले जटिल प्रकृतिका बिरामीको थप उपचार तथा रेफरल व्यवस्थासमेत गरिएको उल्लेख गर्नुभयो।
आयोजकका अनुसार आर्थिक अभाव र विशेषज्ञ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले ठूलो संख्यामा सेवा प्रदान गर्दै स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको छ।








प्रतिक्रिया राख्नुहोस्