१८ मगरात क्षेत्रमा भुम्याः पर्व हर्षोल्लासका साथ मनाइँदै
रोल्पा। मगरात क्षेत्रका मगर समुदायले आज आफ्नो मुख्य पर्व भुम्याः विशेष हर्षोल्लासका साथ मनाइरहेका छन्। आदिवासी जनजातिका रूपमा धर्तीपुत्रको पहिचान बोकेका रोल्पा र रुकुमका रैथाने मगर समुदायले असार १ गतेलाई ऐतिहासिक पर्वका रूपमा मनाउँदै आएका छन्। यस अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, रुकुम, दाङ र प्युठान जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ।

ऐतिहासिक मान्यताअनुसार गण्डकी नदीस्थित रिडिलाई सिमाना मानेर पश्चिमतर्फका समुदायले पानीलाई ‘रि’ र पूर्वतर्फका समुदायले ‘डि’ भन्ने प्रचलनबाट ‘रिडि’ नाम रहन गएको मानिन्छ। सोही आधारमा पश्चिम क्षेत्रलाई १८ मगरात र पूर्व क्षेत्रलाई १२ मगरातका रूपमा विभाजन गरिएको कथन छ।
१८ मगरात क्षेत्रअन्तर्गत रोल्पा र रुकुमका मगर समुदायले हरेक वर्ष असार १ गते भुम्याः पर्व मनाउँदै आएका छन्। पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण यो पर्व रोल्पा–रुकुममा मात्र सीमित नभई दाङ, प्युठान, बाँके, बर्दिया, रुपन्देही, काठमाडौंलगायत विदेशमा समेत विशेष कार्यक्रमसहित मनाउन थालिएको छ।

‘भुम्या’ को अर्थ भूमि अर्थात् जमिनलाई देवताको रूपमा मानेर पूजा गर्नु हो। परम्पराअनुसार वर्षभरि प्राकृतिक विपत्ति जस्तै बाढीपहिरो, भूकम्प नआओस्, धनजन तथा पशुचौपायाको क्षति नहोस्, अन्नबाली राम्रो होस् र रोग–किरा नलागोस् भन्ने कामनासहित पूजा गर्ने चलन छ। भुम्याः पर्वलाई प्रकृति र मानवबीचको सम्बन्ध झल्काउने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ।
पर्वको अघिल्लो दिन मगर समुदायले जलजला क्षेत्रबाट फूल टिपेर ल्याउने परम्परा छ। त्यसपछि ‘नोकोबाङ्गे’ नाच नाच्दै मगर भेषभूषामा सजिएका युवा–युवतीदेखि वृद्धवृद्धासम्म सहभागी हुन्छन्। सनाई र दमाहाको तालमा नाचगान गर्दै खुसी साटासाट गर्ने परम्पराले भुम्याः पर्वलाई अझ विशेष बनाउने गरेको छ।








प्रतिक्रिया राख्नुहोस्