तपाईँ सुन्दै हुनुहुन्छः

शैलुङ जोड्ने मूडे–बागखोर–कालापानी सडक कालोपत्रे अन्तिम चरणमा

दोलखा । दोलखाको पर्यटकीय केन्द्र शैलुङ जोड्ने मूडे– बागखोर– कालापानी सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

सिन्धुपाल्चोकको मूडेबाट दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ कालापानी जोड्ने सडक कालोपत्रेको काम २०७६ सालबाट सुरु भएको हो । तर निर्माण व्यवसायीले तोकिएको समयमा कालोपत्रे नगर्दा यो सडक केही बर्ष अलपत्र जस्तै बनेको थियो । 

पूर्वाधार विकास कार्यालय दोलखा अन्तर्गत कालोपत्रे गर्ने ठेक्का शुभकामना निर्माण सेवा, महालक्ष्मी निर्माण सेवा र कञ्चन जङ्गा निर्माण सेवा (तीन वटा निर्माण सेवाको जेभि) ले प्राप्त गरेको हो ।  २०७६ असारमा सम्झौता भएको यो सडकको कालोपत्रे गर्ने काम पाँच वर्षको अवधिमा २०८१ सम्म १० किलोमिटर सकिएको थियो ।

बाँकी ६.५ किलोमिटर सडक कालोपत्रे गर्ने काम भने केही समय अघिबाटमात्र सुरु भएको हो । कामको मुख्य जिम्मेवारी लिएको शुभकामना निर्माण सेवाका प्रोप्राइटर ईश्वर बाँसकोटा ठेक्का सम्झौता लगतै कोरोना महामारी सुरु भएको र केही प्राविधिक समस्या समेत देखिएकोले काम ढिला भएको स्वीकार गर्नुहुन्छ ।

“हामीले १० किलोमिटर कालोपत्रे गर्ने काम २०८१ मै सकेका हौँ”, बाँसकोटाले भन्नुभयो– “बाँकी ६.५ किलोमिटर कालोपत्रे गर्ने काम पनि बीचमा कुनै अवरोध भएन भने असार १५ सम्म सकेर पूर्वाधार विकास कार्यालयलाई बुझाउने छौँ ।” 

दोलखाको शैलुङ क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मध्यमा पर्ने र यो क्षेत्रमा वार्षिक करोडौँको आलु, काउली, बन्दा, मुला, गाँजर जस्ता तरकारी राजधानी लगायतका क्षेत्रमा निर्यात हुने भएकोले मूडे– बागखोर–कालापानी सडक महत्वपूर्ण रणनीतिक सडक मध्यमा पर्दछ ।

यो सडक कालोपत्रेमा ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधि, किसान, सामाजिक अभियन्ताहरूले पटक– पटक पूर्वाधार विकास कार्यालय र बागमति प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर–३ ढुङ्गेका स्थानीय किसान पूर्ण बहादुर खड्का सडक कालोपत्रेको काम विगत सात वर्षदेखि पुरा हुन नसक्दा शैलुङ क्षेत्रमा आउने पर्यटक र स्थानीय किसानले निक्कै सास्ती खेप्नुपरेको बताउँछन् । 

सबैको जोडबलमा निर्माण व्यवसायीले अहिले दु्रततर गतिमा कालोपत्रेको काम गरिरहेको ले अब छिट्टै यो सडक पूर्ण रुपमा कालोपत्रे हुने कुरामा आशावादी रहेको पूर्ण बहादुर बताउनुहुन्छ । सडक अलपत्र पर्दा स्थानीय किसानले हरेक बर्ष आलु लगायतका तरकारी निर्यातमा लाखौँ नोक्सानी व्यहोरी रहेको उहाँको भनाई छ । 

“अब यही निर्माण व्यवसायीबाट जसरी पनि काम सम्पन्न गराउनुपर्छ”, शैलुङ गाउँपालिका वडा नम्बर–६ सदुङका किसान तारा बहादुर श्रेष्ठले भन्नुभयो ।

शुभकामना निर्माण सेवाका प्रोप्राइटर ईश्वर बाँसकोटा कालोपत्रे गर्न बाँकी रहेको ६.५ किलोमिटर सडकको काम पनि निक्कै अघि बढेको र अहिलेसम्म झण्डै ९४ प्रतिशत काम सकिएकोले असार १५ सम्म जसरी पनि काम सकेर पूर्वाधार विकास कार्यालयलाई सडक हस्तान्तरण गर्ने बताउनुहुन्छ । 

पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरि प्रसाद ओझा मूडे–बागखोर–कालापानी सडक कालोपत्रे गर्ने काम तोकिएको समयभन्दा ढिला भएकोले अहिले निर्माण व्यवसायीले दैनिक अधिकतम हर्जाना सहित काम गरिरहेको र चाँडै काम सक्ने कुरामा कार्यालय आशावादी रहेको बताउनुहुन्छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button