सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेश सभाको आजको बैठकले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा सभामुख भिम बहादुर भण्डारीले सरकारको आगामी आर्थिक बर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रदेश सभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात गरि बजेट निर्माणमा केन्द्रित रहने बताउनुभयो ।
बजेट कार्यान्वयन हुने योजना तथा कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिने सरकारको नीति रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले नीति, ऐन कानुन निर्माणमा संसद् र सरकार एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
यही जेठ १८ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गरेको थियाे। नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षामा सुधार, कृषिमा यान्त्रिकीकरण, स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको थियो ।
प्रदेश सभाको अर्को बैठक भोली बेलुकी ५ बजे बस्ने र उक्त बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनुभयो ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउने कार्यतालिका रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्