तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेस गर्नुभएको छ । 

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब १० रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण गरिएको उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ७२ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२/८३ मा सुधार भई तीन दशमलव १३ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६७ दशमलव पाँच प्रतिशत रहने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ । 

उहाँले आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४१० अमेरिकी डलर रहने प्रक्षेपण छ ।

विशेष समय
कोशी प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बोले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेको उल्लेख गर्दै स्थानीय जनताले आफ्नै बलमा ती सुरक्षाकर्मीहरूलाई धपाउनु गौरवको काम भएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट समावेशी, पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । 

आकस्मिक समय
कोशी प्रदेशसभाको आकस्मिक समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिकाको बखरीस्थित सम्पत्र बस्तीको विषयमा उठेको विषयमा असहमति जनाउनभयो । उहाँले कृषिदेव समुदायका लागि बनाइएको सम्पत्र बस्तीमा कुनै पनि आर्थिक चलखेल नभएको र अहिले त्यहाँका बसोबासी जग्गाधनी भएकामा जोड दिनुभयो ।

शून्य समय
कोशी प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य जीवन आचार्य, गीतादेवी रेग्मी, गोम्बू शेर्पा र शीला दीक्षित कार्कीले प्रदेशको विविध पक्षमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४ बजे बस्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button