तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा इँटा होइन, किताब चाहिन्छ’ भन्दै मनाइयो बालश्रम विरुद्ध अभियान 

स्याङ्जा । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न र बालश्रम अन्त्यको सन्देश फैलाउन स्याङ्जामा विश्व बालश्रम विरुद्ध दिवस विविध कार्यक्रमसहित मनाइएको छ । 

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालयको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा ‘बालश्रमलाई रातो कार्ड: बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कका लागि मर्यादित काम’ भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको हो ।

अर्जुनचौपारी गाउँपालिका स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रभातफेरी, अन्तरक्रिया तथा अभिमुखीकरण मार्फत बालश्रमका असर र यसको अन्त्यका उपायबारे व्यापक छलफल गरिएको थियो । 

सहभागीहरूले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र व्यक्तित्व विकासमा गम्भीर असर पार्ने भएकाले यसको उन्मूलनका लागि सरकार, समुदाय, निजी क्षेत्र तथा अभिभावक सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका वडा अध्यक्ष रणबहादुर थापाले बालबालिकालाई सम्मानित र सुरक्षित बाल्यकाल उपलब्ध गराउन बालश्रम अन्त्य अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय तह बालमैत्री शासन व्यवस्थाको कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बाल्यकाल सिकाइ, सिर्जना, खेलकुद, माया र संरक्षणको वातावरणमा बित्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गर्न बालश्रम अन्त्य पहिलो शर्त भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले कविता, वक्तृत्व, रचना वाचन तथा अन्य सिर्जनात्मक प्रस्तुती मार्फत बालअधिकारको संरक्षण र बालश्रम अन्त्यको पक्षमा आवाज उठाएका थिए । उत्कृष्ट प्रस्तुति दिने बालबालिकालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बालश्रमको सट्टा शिक्षालाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्दै आयोजकले विद्यार्थीहरूलाई कापी, कलम तथा बाल साहित्यका पुस्तक वितरण गरेको थियो । “बालबालिकाको हातमा इँटा होइन, किताब र कलम हुनुपर्छ” भन्ने सन्देश कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को आह्वानमा सन् २००२ देखि हरेक वर्ष जुन १२ मा विश्व बालश्रम विरुद्ध दिवस मनाइँदै आएको छ । आईएलओका अनुसार पछिल्ला दुई दशकमा बालश्रम न्यूनीकरणमा उल्लेखनीय प्रगति भए पनि विश्वव्यापी रूपमा सन् २०२५ सम्म बालश्रम उन्मूलन गर्ने लक्ष्य पूरा हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button