तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । 

सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा सभाको नियमावलीको नियम १३ बमोजिम कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन गरेको जानकारी गराउनुभयो । 

समिति सदस्यहरूमा डा.अचुतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य रहनुभएको छ ।

सभामुख अर्यालले समितिमा सदस्यहरूको नाम हेरफेरका लागि सभामा गर्नुभएको प्रस्तावलाई सभाले सहमति प्रदान गरेको छ । 

सभामुख अर्यालले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर र कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो । 

सभामुख अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रियसभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी गराउनुभयो ।

सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको वेल घेराउ गरेर नाराबाजी गरिरनुभएको थियो । सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेर बेल घेराउ गर्नुभएको हो ।

सभामुख अर्यालले रोष्ट्रम अगाडी उभिएर नाराबाजीसहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभयो ।

त्यसपछि श्रम संस्कृति पार्टी पार्टीका अध्यक्ष हर्कराज सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद् र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो ।

उहाँले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती कुरा बोलेको भन्दै सदनमा बोलाउनको लागि रुलिङ गर्न सभामुख अर्यालसँग माग गर्नुभयो । 

उहाँले प्रधानमन्त्री शाहले जथाभाबी बोलेका कारण सिमानामा झन समस्या बढेको बताउँदै सीमा मिचिएको विषयमा हेर्न र बुझ्न सेनालाई सिमानामा पठाउन माग गर्नुभयो ।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल शुरु भएको छ ।  

बजेट माथिको छलफलमा उठेका विषयमा आजै अर्थमन्त्री डा.वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा अर्थमन्त्री डा.वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button