तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बन्धक बनाइएका १६ नेपालीको उद्धार

महोत्तरी । भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धकजस्तै अवस्थामा राखिएका १६ जना नेपालीको उद्धार गरिएको छ ।

महोत्तरीको बर्दिबास मुसहर बस्तीका उहाँहरूलाई ‘आफन्त इन्डिया फाउन्डेसन’को सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागिएको हो । उहाँहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको हो । उहाँहरू बुधबार अपराह्नसम्म जलेश्वर नगरपालिका– ३ स्थित भिट्ठामोड नाका आइपुग्ने आफन्त इन्डिया फाउन्डेसनका निर्देशक विनोदकुमार खातीले बताउनुभएको छ ।

उद्धार गरिएकामध्ये सातजना १८ वर्षमुनिका छन् ।बर्दिबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वय तथा हरियाणा प्रहरीको क्राइम ब्रान्चअन्तर्गत मानव तस्करी विरोधी इकाइ, भारत सरकारका सम्बन्धित निकाय र आफन्त इन्डिया फाउन्डेसनको संयुक्त पहलमा उहाँहरूको उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू हरियाणाको झज्जर जिल्लाको मातनहेलस्थित एक पोल्ट्री फार्ममा बन्धकसरह अवस्थामा राखिएको पाइएको खातीले बताउनुभयो ।

‘प्रारम्भिक अनुसन्धानमा उहाँहरूलाई रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती श्रममा लगाइएको खुलेको छ,’ उहाँले भने । उद्धारपछि सम्बन्धित फार्म सञ्चालक तथा श्रमिक आपूर्तिमा संलग्न ठेकेदारलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको र पीडितहरूले पाउनुपर्ने पारिश्रमिकबापत करिब दुई लाख रुपैयाँ उपलब्ध गराइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button