मकैको उचित मूल्य नपाउँदा मोरङका किसान मारमा: समर्थन मूल्य तोक्न माग

विराटनगर। मकैको उचित मूल्य नपाउँदा किसान मार्कामा परेका छन् । गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गरिँदै आएपनि उत्पादन हुने यो समयमा सरकारले मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसान मर्कामा परेका हुन् ।
गत वर्ष स्थानीय बजारमा मकै प्रतिक्विन्टल ३३ सय देखि ३५ सय सम्म बिक्री गरेको मकै यो वर्ष व्यापारीले प्रतिक्विन्टल २५ सय देखि २६ सय रुपैयाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका–३ का किसान अनिलकुमार यादवको भनाई छ । उहाँले मकैखेतीमा लागत खर्च धेरै भएपनि सो अनुसारको मूल्य नपाएको उहाँको गुनासो छ । आठ विघा जग्गामा प्रति विघा ९० हजार रुपैयाँ खर्च गरेर यो वर्ष मकैखेती लगाएकोमा यो वर्षको भाउले लागत खर्च समेत उठाउन समस्या भएको उहाँको गुनासो छ ।
त्यस्तो रंगेली नगरपालिका–४ का किसान मरुङवावु वेसराले अरू वालिको तुलनामा राम्रो आम्दानी हुने भएपछि विगत १० वर्ष देखि मकै खेती गर्दै आउनु भएको छ । मल, बिउ, विषादी तथा काम गर्ने मजदुर सहित ठुलो खर्च गरेर खेती गर्दै आएपनि यो वर्षको मकैको भाउले निराश बनाएको उहाँको भनाई छ । सोही ठाउँका अर्का किसान रोसनकुमार साहले मकै उत्पादन भएपछि सुकाउने समस्या हुँदा सडकमै मकै सुकाउनुपर्ने अवस्था र निरन्तरको वर्षाले मकै पानीमा भिज्दा र यो वर्ष भाउ समेत घट्दा किसान मार्का परेको बताउनुभयो । मकैको समर्थन मूल्य निर्धारित नहुँदा व्यापारीहरूले आफूखुसी भाउमा मकै खरिद गर्ने गरेको किसानको गुनासो छ ।
प्रति विघा डेढ सय देखि दुई सय मन सम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खतीप्रति किसानको आकर्षण वढन थालेको छ । धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल सिवाकोटीको भनाई छ । वर्षा तथा हावाहुरीले मकैवालीमा वर्षेनी क्षति पु¥याउदा किसान मार्कामा पर्ने गरेकाले मकैवालीको बिमा तथा मकैको समर्थन मूल्य तोक्नु आवश्यक रहेको उहाँको भनाई छ ।
गत वर्ष जिल्लामा २१ हजार १ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट १ लाख ४७ हजार ७ सय मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । यो वर्ष मोरङ जिल्लामा २१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकै खेती लगाइको सो कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्