कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन-२०८३’ सुरु
कैलाली I कैलालीको टीकापुरमा सङ्घीय संसद् र प्रदेश सभाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ ‘अन्तर व्यवस्थापिका सम्मेलन-२०८३’ सुरु भएको छ।

अन्तर व्यवस्थापिका मञ्चको आयोजना र सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा आयोजित उक्त सम्मेलनको प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको छ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय संसद् र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग र सह-अस्तित्व अनिवार्य रहेको बताउनुभयो। उहाँले यस्ता सम्मेलनले संसदीय अभ्यासलाई थप परिष्कृत गर्न र तीन तहका सरकारबीचको खाडल कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समारोहमा प्रतिनिधिसभाका सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष दाहाल, सुदूरपश्चिम प्रदेश सभाका विपक्षी दलका नेता खगराज भट्ट, सामाजिक विकास समिति सभापति धर्मराज पाठक र विशेषाधिकार समिति सभापति तुलसी देवकोटाले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपसभामुख कोइलीदेवी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो।
उक्त सत्रहरूमा संविधान सभाका सदस्य खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्वसचिव डा. सुरेन्द्र अर्याल, सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे र सूचना प्रविधि विज्ञ विनित सत्याललगायतले सहजीकरण गर्नुहुनेछ।
सम्मेलनमा प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी ठाकुर, राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारी, ६ वटा प्रदेश सभाका सभामुख र उपसभामुखहरू, सङ्घीय संसद्का महासचिव, तथा सङ्घीय र प्रदेश सभाका सचिवहरूको सहभागिता रहेको छ।
विभिन्न तहका संसद्का पदाधिकारीहरूबीचको अनुभव आदान-प्रदानसहित दुई दिनसम्म चल्ने उक्त सम्मेलन आइतबार ‘टीकापुर घोषणापत्र’ सार्वजनिक गर्दै सम्पन्न हुनेछ।








प्रतिक्रिया राख्नुहोस्