तपाईँ सुन्दै हुनुहुन्छः

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी

बागलुङ I जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरूप परिवर्तन (मोडिफाई) गरि चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ ।

बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइकल चालकले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्दै गएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो ।

पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ नायव निरीक्षक मीनबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार जथाभाबी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरेको पाइएको छ ।

स्वरूप परिवर्तन गरी चलाइएका सवारी साधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्रमा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदूषणसमेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारबाही गरिएको उहाँको भनाइ छ । कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्ड अनुरूप राख्न लगाइएको कुँवरको भनाइ छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरूप परिवर्तन गरी सवारी साधन चलाउँदा रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । गत साउन यता दुई हजार ९०० बढी मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको कुँवरले बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button