रास्वपाको लक्ष्य मुलुकको नेतृत्व हो : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनुभएको छ ।

आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको बताउनुभएको छ । “पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ”, सभापति लामिछाने भन्नुभएको छ ।
अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनुभएको छ ।
रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदै छन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।
पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उहाँको भनाइ छ ।
स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उहाँले लेख्नुभएको छ । “चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ”, सभापति लामिछानेले भन्नुभएको छ, “पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।”
मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभएको छ।
रासस








प्रतिक्रिया राख्नुहोस्