कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु भएको छ ।
हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौँ स्थानमा सडक भाँसिदा र भत्कँदा जीर्ण बन्दै गएपछि उक्त सडक मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले कागबेनी–मुक्तिनाथ १२ किमी सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।
उक्त सडक मर्मत तथा स्तरोन्नतिका लागि धोर्जे फूर्वा निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच सालबसाली ठेक्का सम्झौता भएको छ । मुक्तिनाथ जोड्ने उक्त सडकको अहिले बारागुङ–१ को खिङ्गादेखि झारकोटसम्मको अप्ठ्यारो खण्डमा मर्मत तथा स्तरोन्नति गरिंदैछ । कागबेनीदेखि माथिको मुक्तिनाथ जाने उकालोको घुम्तीमा सम्याएर सडक चौडा गरिने पूर्वाधार विकास कार्यालयका सवइञ्जिनीयर जगदीश जोशीले जानकारी दिनुभयो ।
मुक्तिनाथ झारकोट गाउँको ओरालो नजिक सडक अप्ठ्यारो र जीर्ण बन्दै गएको स्थानमा दुईतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी पर्खाल निर्माण भइरहेको सवइञ्जिनियर जोशीले बताउनुभयो । उक्त सडक चालु आवको असारसम्ममा सम्पन्न गरिने पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
उक्त सडकको मर्मत तथा स्तरोन्नतिसँगै सडक किनारमा थुप्रिएको माटो पन्छाइने छ । सोही क्षेत्रका वडाध्यक्ष प्रवेश गुरुङले दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने उक्त सडक केही स्थानमा भत्किदा सवारीसाधनको आवतजावतमा समस्या परिरहेको बताउनुभयो ।
बर्सेनि हिमपात र वर्षाले सडक भासिने, पुरिने, हिलाम्मे हुने र सडक संरचनामा क्षति भएपछि मर्मत सुधार गरी सडक सहज बनाउने प्रयास भइरहेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
‘बर्सेनि हिमपात र वर्षाले सडकमा क्षति हुने गर्छ, वर्षमा पाँच÷छ पटकसम्म सवारी आवागमनमा समस्या हुन्छ, वडाध्यक्ष गुरुङले भन्नुभयो, “समस्या समाधान गर्न सडक मर्मत सुधारको काम अघि बढाएका हौ ।”
सडक असहज हुँदा मुक्तिनाथ आवतजावत गर्ने ठूला सवारीसाधनलाई समस्या हुने गरेको थियो । साँघुरो घुम्ती मोडमा ठूला सवारीसाधनलाई मोड नपुग्दा सवारी दुर्घटनाको जोखिम थियो । सडक मर्मत तथा स्तरोन्नति कार्यले मुक्तिनाथ जाने सवारीसाधनलाई आवतजावतमा सहयोग पुग्ने छ ।
यसअघि विसं २०७४ मा यहाँको पवित्र धार्मिकस्थल मुक्तिनाथ जोड्ने कागबेनी–मुक्तिनाथ १२ किलोमिटर सडकको साविक जिल्ला विकास समितिमार्फत स्थानीय कृषि पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० ले सडक कालोपत्र गरेको थियो ।
सडक कालोपत्र भएको झण्डै आठ वर्षको अन्तररालमा उक्त सडकको खिङ्गादेखि झारकोटसम्मको दुरीमा कालोपत्र सडक उप्किने, बिग्रने र सडक संरचनामा क्षति पुगेको हो । रासस








प्रतिक्रिया राख्नुहोस्