तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा ‘रूपान्तरणका लागि प्रविधि’ राष्ट्रिय सम्मेलन हुने

नेपालगञ्ज । नेपालगञ्जमा ‘रूपान्तरणका लागि प्रविधि’ राष्ट्रिय सम्मेलन हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा शनिवार र आइतबार दुई दिन राष्ट्रिय सम्मेलन हुन लागेको हो । 

नेपालगञ्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर  राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । नेपालगञ्ज १४ महेन्द्रनगरस्थित प्रदेश सुशासन केन्द्रमा ‘रूपान्तरणका लागि प्रविधि: लुम्बिनी प्रदेशको विकासका लागि इन्जिनियरिङ तथा सूचना प्रविधि (आइटी) समाधान–२०२६’ नारासहित सम्मेलन आयोजना गर्न लागिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले जानकारी दिनुभयो । 

डा. केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल समेत आयोजना गरिने बताउनुभयो । विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो। उहाँले नेपालगन्जलाई प्रविधिको केन्द्र (टेक्नोलोजी हब) का रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका कुल सचिव सहप्राध्यापक रेग बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबिचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो । सम्मेलन संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहनेछ । 

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै प्रविधि क्षेत्रको विकास र नीतिगत कार्यदिशा निर्माणमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनको सहजीकरण विश्वविद्यालयकी अधिकृत तेजु कुमारी विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button