तपाईँ सुन्दै हुनुहुन्छः

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

 झापा। नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका–४ स्थित एक घरबाट पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिनुभयो ।

सोही क्रममा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।

यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 

 भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शङ्का लागेपछि मङ्गलबार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा दमक नगरपालिका–१० निवासी ३२ वर्षीय सुरज रायको साथबाट छ ग्राम एक मिलीग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट पनि प्रहरीले आठ ग्राम ७० मिलीग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button