साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य
भारत (गोवा)। दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ ।
सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ । यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन । पछिल्लोपटक बङ्गलादेशले नेपाललाई टक्कर दिँदै पछि पार्दै आएको छ ।
विगत पाँच वर्षयता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ । साफ च्याम्पियनसिपको सुरुआती यात्रादेखि निरन्तर सन् २०२१ सम्म बङ्गलादेशलाई हराउँदै आएको नेपाल त्यसपछि भने पराजित हुँदै आएको हो । पछिल्लो तथ्याङ्कअनुसा जम्माजम्मी १३ खेलमध्ये नेपालले छ खेलमा विजय हासिल गर्दा बङ्गलादेशले पाँच खेलमा जित हासिल गरेको छ । यसैगरी, दुई खेल बराबरीमा टुङ्गिएको छ ।
सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । सन् २०२४ को साफ च्याम्पियनसिपमा पनि बङ्गलादेशले नेपालाई नै हराउँदै लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो ।
सोही हारहरूको बदला लिँदै आज नेपाल बङ्गलादेशसँग भिड्दै छ । भारतको गोवास्थित पण्डित जवाहरलालनेहरु रङ्गशालामा हुने उक्त खेल स्थानीय समयअनुसार अपराह्न ४ः०० बजे हुनेछ ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बङ्गलादेशविरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताउनुभयो । प्रतियोगिताको सुरुआती खेलमा गोवाको अत्यधिक गर्मी र आद्र्रताका कारण खेलाडीमा थकान देखिए पनि दोस्रो खेलसम्म आइपुग्दा टोलीले मौसमसँग आफूलाई अभ्यस्त बनाइसकेको उहाँले बताउनुभयो ।
प्रशिक्षक न्यौपानेले बङ्गलादेशविरुद्धको खेल अघिल्ला खेलभन्दा कठिन हुने उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनका लागि सबै खेलाडी तयार रहेको जानकारी दिनुभयो । “बङ्गलादेश बलियो टोली हो । उसविरुद्ध ‘टफ फाइट’ दिन हामीले पूर्ण ऊर्जा र अनुशासनका साथ खेल्नुपर्छ । खेलाडीहरू मानसिक र शारीरिक रूपमा तयार छन्”, उहाँले भन्नुभयो ।
हालै टोलीमा आबद्ध भएकी ‘मिडफिल्डर’ प्रिती राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक न्यौपानेको भनाइ छ । कम्बोडियामा खेलिसकेकी प्रितीलाई गोवाको मौसममा खेल्न समस्या नहुने विश्वास व्यक्त गर्दै उहाँले प्रितीको बल वितरण क्षमता टोलीका लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।
“प्रितीको विशेषता भनेकै राम्रो सप्लाइ हो । उनले अवसर सृजना गर्न सक्छिन् । अबको खेलमा सृजना भएका अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ, नत्र हामीलाई कठिन हुन्छ”, उहाँले भन्नुभयो ।
प्रिती सेमिफाइनदेखिको खेलका लागि गोवा आइपुगेकी हुन् । उनी कम्बोडियाको क्लबमा आबद्ध भएका कारण दुई दिनअघि मात्र गोवा आइपुगेकी हुन् । प्रशिक्षक न्यौपानेले टोलीले सङ्गठित र ‘कम्प्याक्ट डिफेन्स’सहित ‘काउन्टर’ आक्रमणमा जोड दिने योजना रहेको बताउनुभयो । पछिल्ला दुई खेलमा दायाँ विङबाट धेरै आक्रमण भएको र बायाँ पक्षबाट अपेक्षित क्रस आउन नसकेको स्वीकार गर्दै उहाँले त्यसमा सुधारका लागि प्रशिक्षण भइरहेको जानकारी दिनुभयो ।
‘फिटनेस’को विषयमा बोल्दै उहाँले तीन साताको तयारीपछि टोली राम्रो अवस्थामा रहेको बताउनुभयो । सुरुआती खेलमा मौसमसँग अभ्यस्त हुन केही समस्या भए पनि हाल खेलाडीहरू पूर्ण रूपमा तयार रहेको न्यौपानेको भनाइ छ ।
बङ्गलादेशबारे विश्लेषण गर्दै प्रशिक्षक न्यौपानेले उक्त टोली सङ्क्रमणकालीन चरणमा रहेको उल्लेख गर्नुभयो । “बङ्गलादेशमा नयाँ र अनुभवी खेलाडीको मिश्रण छ । अपेक्षाअनुसारको प्रदर्शन भने देखिएको छैन, तर उनीहरू शारीरिक रूपमा निकै बलिया छन् । त्यसैले हामी सचेत भएर खेल्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाली दर्शकको समर्थनले खेलाडीहरूमा अतिरिक्त ऊर्जा थपिने र सेमिफाइनलमा जित निकालेर फाइनलयात्रा तय गर्ने नेपाली टोलीको लक्ष्य छ । न्यौपानेले भन्नुभयो, “चेलीहरूलाई साथ र समर्थनको आवश्यकता छ । दर्शकको माया र समर्थनले छुट्टै ऊर्जा दिन्छ । हामी जित निकालेर फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौँ ।”
समूह चरणको खेलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई एक शून्य गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । त्यसैगरी समूहको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई दुई शून्य गोलअन्तरले पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनलयात्रा तय गरेको हो ।
श्रीलङ्काविरुद्धको खेलमा नेपाली टोलीको कप्तानको भूमिकामा आबद्ध भएकी रेनुका नगरकोटीले आफ्नो करिअरकै एतिहासिक गोल गरेकी छन् । साफ च्याम्पियनसिपको सुरुआतदेखि नै टोलीमा आबद्ध उनले आफ्नो करिअरकै पहिलो गोल गरिन् । खेलको ६०औँ मिनेटमा करिब २२ यार्ड टाढाबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरिन् । श्रीलङ्काविरुद्धको उक्त खेलमा नेपालले दुई शून्य गोलको जित निकालेको थियो ।
बङ्गलादेशले समूह चरणको खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँग हार व्यहोरेको थियो । विभिन्न छ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल, बङ्गलादेश, भारत र भुटानले सेमिफाइनलयात्रा तय गरेका छन् । जसमा नेपाल समूह ‘ए’ विजेता हो भने बङ्गलादेश समूह ‘बी’को उपविजेता हो । त्यसैगरी, भारत समूह ‘बी’को विजेता बन्दा भुटान समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन् । आजै हुने भारत र भुटानबीचको दोस्रो सेमिफाइन खेल राति ८ः०० बजे हुनेछ । विगत १६ वर्षदेखि उपाधिको नजिक पुगेर पनि खाली हात फर्किएको नेपाली टोली यसपटक इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । मुना कार्की/रासस








प्रतिक्रिया राख्नुहोस्