प्रधानन्यायाधीश डा. शर्माको प्रतिबद्धता: ‘बोलेर होइन, कार्ययोजना बनाएरै न्यायालय सुधार गर्छु’

काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले अदालतप्रति जनताको जनविश्वास बढाउन स्पष्ट कार्ययोजना नै बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरूसँग आज आफ्नै कार्यकक्षमा भएको भेटघाटमा प्रधानन्यायाधीश डा.शर्माले जनताले प्रत्यक्ष महसुस गर्ने गरी न्यायलयको सुधारमा लाग्ने बताउनुभएको हो ।
भेटका क्रममा उहाँले आफू बोलेर भन्दा पनि कामबाटै न्याय क्षेत्रमा परिवर्तन ल्याउन निर्मम ढङ्गले लागिपरेको स्पष्ट पार्नुभयो । सुधारकै प्रक्रिया अन्तर्गत सर्वोच्च अदालतका न्यायाधीशहरूलाई निश्चित क्षेत्र तोकेरै जिम्मेवारी दिई अघि बढाउने आफ्नो योजना रहेको जानकारी समेत उहाँले दिनुभयो ।
प्रधानन्यायाधीश डा. शर्माले न्यायालयको गरिमा र छविलाई उच्च राख्न पत्रकारिता क्षेत्रको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मिडियाबाट सकारात्मक र आलोचनात्मक दुवै किसिमको पृष्ठपोषण (फिडब्याक) को अपेक्षा राखेको बताउनुभयो ।
भेटका क्रममा मञ्चका अध्यक्ष कालिका खड्काले नागरिकले न्यायको वास्तविक महसुस गर्न सक्ने गरी न्यायालयमा सुधार आउने अपेक्षा मञ्चले राखेको बताउनुभयो ।
सो अवसरमा मञ्चका पदाधिकारीहरूले नवनियुक्त प्रधानन्यायाधीश डा। शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्