स्याङ्जामा सूर्तीजन्य पदार्थ नियन्त्रण अभियान कडा बनाइँदै, सोमबारदेखि अनुगमन
स्याङ्जा। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूर्तीजन्य पदार्थको सेवन तथा बिक्री–वितरण नियन्त्रण गर्न कानुनी कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आगामी सोमबारदेखि जिल्लाभर अनुगमन अभियान सञ्चालन गरिने जनाएको छ।
प्रशासनद्वारा जारी सूचनामा सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने उल्लेख गरिएको छ। साथै, अन्य व्यक्तिलाई असर पुग्ने गरी घरभित्र वा निजी सवारीसाधनमा समेत धूम्रपान गर्न नहुने व्यवस्था रहेको स्मरण गराइएको छ।
त्यसैगरी, १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरू तथा गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन निषेध गरिएको छ। शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिक स्थलको कम्तीमा १०० मिटर वरपरका पसल वा घरबाट सूर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था पनि कडाइका साथ कार्यान्वयन गरिने प्रशासनले जनाएको छ।
यसका साथै, सूर्तीजन्य पदार्थ निःशुल्क वितरण गर्न, उपहारका रूपमा दिन, आकर्षक ढंगले प्रदर्शन गर्न वा बिक्रीस्थललाई प्रचारात्मक रूपमा सजाउनसमेत रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार सूर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले यसको नियन्त्रण, नियमन र न्यूनीकरणका लागि नागरिकलाई सचेत गराउने उद्देश्यले सूचना जारी गरिएको हो।
उहाँले कानुनी जानकारीसँगै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सूचना प्रकाशित गरिएको बताउँदै अबको चरणमा अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो। “कारबाही गर्नेभन्दा पनि नागरिक र व्यवसायीलाई कानुनी व्यवस्था बुझाएर जिम्मेवार बनाउने हाम्रो प्रयास हो,” उहाँले भन्नुभयो।
उहाँले नियमविपरीत गतिविधि भएमा भने प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो।
सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ तथा नियमावली, २०६९ मा उल्लेखित व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले सूचना जारी गरेको जनाएको छ। कानुनले तोकेका प्रावधान उल्लङ्घन गरी सूर्तीजन्य पदार्थको बिक्री–वितरण वा सेवन गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत सूचनामा दिइएको छ।
प्रशासनको यो कदमलाई जिल्लामा सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।








प्रतिक्रिया राख्नुहोस्