‘निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न सहकार्य अपरिहार्य’
काठमाडौँ । महिला, बालबालिका तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तिनै ऐतिहासिक सङ्घर्ष, त्याग र योगदानको उपलब्धि भएका बताउनुभयो ।
सरकारले महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, सामाजिक सुरक्षा तथा जीविकोपार्जन सुधारका कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानसहित सम्मानित र मर्यादित जीवनयापन सुनिश्चित गर्ने गरी मन्त्रालयको नामसमेत समावेशी बनाइएको उहाँले स्पष्ट पार्नुभयो ।
“दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायत सीमान्तकृत तथा अति सीमान्तकृत समुदायको विषयमा पनि यस मन्त्रालयले नीति तथा कानुन निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म प्रभावकारी समन्वय गरिरहेको छ”, बादीले भन्नुभयो ।
महिलाको क्षमता, सीप, श्रम र सृजनशीलतालाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन तथा निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकारको सम्मान र सफल कार्यान्वयनविना मानवअधिकार सबल बन्न नसक्ने बताउनुभयो । “मानवअधिकार सुदृढ भएको समाज मात्रै महिला अधिकारको अवस्था सबल बन्न सक्दछ”, उहाँले भन्नुभयो, “मानवअधिकारको सम्मान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुदृढ गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध छ ।”
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले संवैधानिक तथा राजनीतिक रूपमा महिलाले प्राप्त अधिकारको कार्यान्वयनमा देखिएको समस्या अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो ।
विसं २०६३ जेठ १६ गते तत्कालीन पुनः स्थापित प्रतिनिधिसभाबाट महिलाको अधिकार सुनिश्चित गर्ने चार बुँदे प्रस्ताव पारित भएको दिनको स्मरण गर्दै हरेक वर्ष आजका दिन राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आइएको छ । यस वर्षका लागि ‘समानता, सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ नारा तय गरिएको थियो ।
कार्यक्रममा देशभरका महिला उद्यमीमध्येबाट उत्कृष्ट छनोट भएका महिला उद्यमीहरूलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्